मिस मुस्ताङ २०७६ को उपाधि मेलिना थकालीलाई

Advertisement

मुस्ताङ । मिस मुस्ताङ २०७६ को उपाधि मेलिना थकालीले जितेकी छन् । घरपझोङ गाउँपालिका–३ स्याङ्की २० वर्षीया थकालीले अन्य आठ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् ।

थाक खेलकूद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको सो प्रतियोगितामा थासाङ गाउँपालिका–५ ताक्लुङ्की मनिषा हिराचन फस्ट रनरअफ र जोमसोमकी एलिना थुरुङ सेकेण्ड रनरअप भएको संस्थाका कोषाध्यक्ष शर्मिला गुरुङले बताइन् ।

जोमसोमको जनहित बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत थकालीले समाजसेवा र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने रुचि भएको बताएकी छिन् । विजयी थकालीलाई मिस मुस्ताङको क्राउन पहिराउनुका साथै नगद रु दश हजार प्रदान गरिएको छ ।

गत शनिबारदेखि शुरु भएको ४९औँ थाक खेलकूद च्याम्पीयनसीप प्रतियोगिता मङ्गलबार साँझ समापन भएको छ । सो अवसरमा आयोजित महिला र पुरुष भलिबल प्रतियोगितामा थासाङ गाउँपालिका–३ लेतेको निर्मल स्पोटिङ युवा क्लब विजयी भएको छ ।

पुरुष भलिबलमा लगातार तीन वर्ष प्रतियोगिता जितेको निर्मल स्पोटिङले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । पुरुष भलिबलमा ताक्लुङको अन्नपूर्ण युवा क्लब र महिला भलिबलमा धौलागिरि युवा क्लब कोवाङ दृतीय भएका संस्थाका सचिव दीपक लालचनले बताएका छन् ।

पुरुष भलिबलको विजेता र उपविजेताले रनिङ शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद चालीस हजार र रु २५ हजार प्राप्त गरेका छन् । महिला भलिबलको बिजेताले रु २५ हजार र उपविजेताले रु पन्ध्र हजार हात पारेका छन् ।

आर्चरी खेल प्रतियोगितामा मिलिजुली युवा क्लबमार्फ प्रथम र निलगिरि युवा क्लब टुकुचे दितीय भएका छन् । नृत्य प्रतियोगितामा जोमसोमको जनहित युवा क्लब प्रथम र सिक्स सोल्टी युवा क्लब घाँसा दितीय भएका छन् ।

घरपझोङ र थासाङ गाउँपालिकाका–८क्लबले प्रतियोगितामा सहभागिता जनाएका आयोजक संस्थाका अध्यक्षसमेत रहेका प्रदेश सांसद चन्द्रमोहन गौचनले बताए । लेतेका भलिबल खेलाडी सनिष तुलाचन सर्वोकृष्ट भएका छन् ।

थाक खेलकूद प्रतियोगिता तल्लो मुस्ताङमा ४९ वर्षदेखि निरन्तर आयोजना हँुदै आएको छ । सो अवसरमा आयोजित कृषि मेला प्रदर्शनीमा १७९ जना कृषकले सहभागिता जनाएका थिए ।

Advertisement

Advertisement

Advertisement