रुकुमपूर्वमा विद्युत् सेवा अवरुद्ध, बस्ती अन्धकार

Advertisement

रुकुमपूर्व । भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो ।

विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक क्रियाकलापमा साह्रै अप्ठ्यारो भइरहेको स्थानीयवासी विनपुुरा मगरले बताउनुभयो । दशैँको मुखमा आएर विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी चिन्तित छन् ।

शनिबार राति विद्युत्को पाइप फुटेर पानी उपकरणमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् समितिका सचिव पृथ्वीबहादुर बुढामगरले बताउनुभयो । उपकरणमा आएको समस्या पहिचान गर्न प्राविधिकलाई बोलाइएको र उनीहरूको सल्लाहअनुसार मर्मत गरिने उहाँको भनाइ थियो ।

वैकल्पिक ऊर्जाको रू एक करोड १४ लाख ७५ हजार सहयोग, स्थानीयवासीको बजेटभन्दा दोब्बर जनश्रमदान र प्रतीघर  पाँच–पाँच हजारको लगानीमा ४५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना निर्माण गरिएको थियो । विसं २०७२ असार २६ गतेदेखि सञ्चालनमा ल्याइएको उक्त आयोजनाले अहिलेसम्म भुमे गाउँपालिका वडा नं २ लाई झिलीमिली बनाइरहेको थियो ।

Advertisement

Advertisement

Advertisement