दशैं अघि ब्रोकरले थाल्दैछन् मार्जिन ट्रेडिङ, २ अर्बको सुविधाले बढ्ला त बजार ?

Advertisement

काठमाडौं । ब्रोकरहरुले दशैं अघि नै मार्जिन ट्रेडिङको तयारी थालेका छन् । नेपाल स्टक ब्रोकर एसोसियनका अध्यक्ष भरत रानाभाटले दशैं अघि नै केहि ब्रोकर कम्पनीले मार्जिन ट्रेडिङ आरम्भ गर्ने तयारी गरिरहेको जानकारी दिए । ‘दशैं अघि नै केहि कम्पनी मार्फत मार्जिन ट्रेडिङ आरम्भ गर्नेबारे तयारी भैरहेको छ’, अध्यक्ष रानाभाटले कर्पाेरेट नेपालसँग भने । उनले दशैं अघि परिक्षणका रुपमा भनेपनि मार्जिन ट्रेडिङ गराउने गरि तयारी गरेको पनि स्पष्ट पारे ।

नेपाल धितोपत्र बोर्डले असोज १ गते नै नेप्सेलाई पत्र लेखेर मार्जिन ट्रेडिङ आरम्भ गराउन निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार नेप्सेले असोज १० गते ब्रोकरहरुलाई तत्काल मार्जिन ट्रेडिङ आरम्भ गर्न भनेको थियो । नेप्सेको पत्रपछि ब्रोकरहरु मार्जिन ट्रेडिङका लागि तातेका हुन् । ‘यो हाम्रै जोडबलले आएको व्यवस्था हो, यसको कार्यान्वयनका लागि सबै भन्दा बढी चासो हामीलाई नै छ’, ब्रोकर एसोसियनका अध्यक्ष रानाभाटले भने ।

सेयर बजार ओरालो लागिरहेका समयमा आरम्भ गरिने मार्जिन ट्रेडिङले बजार उकास्न सघाउँछ भन्ने अवस्था भने नरहेको पनि उनले बताए । ‘बजार ओरालो लागिरहेको छ, लगानीकर्ता निरुत्साहित भएको जस्तो देखिन्छ, यति बेला मार्जिन ट्रेडिङले कत्तिको काम गर्छ, त्यो भने हेर्न बाँकी नै छ’, रानाभाटले भने ।

मार्जिन ट्रेडिङ सम्बन्धी कार्यविधि अनुसार ब्रोकर कम्पनीहरुले आफ्नो नेटवर्थको २ गुणासम्म ऋण दिन पाउँछन् । हाल २१ वटा ब्रोकर कम्पनीहरुले मार्जिन ट्रेडिङका लागि अनुमति लिएर बसेका छन् । उनीहरुले करिब २ अर्ब भन्दा बढी रकम मार्जिन ट्रेडिङका लागि उपलब्ध गराउन सक्नेछन् ।

यी हुन मार्जिन ट्रेडिङको तयारी गरिरहेका २१ कम्पनी
क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज (५०), भिजन सेक्युरिटिज (३४), नेपाल स्टक हाउस (१४), सेक्युर्ड सेक्युरिटिज (३६), श्री कृष्ण सेक्युरिटिज (२८), प्राइमो सेक्युरिटिज (१६), कोहिनुर सेक्युरिटिज (३५), दिपशिखा सेक्युरिटिज (३८), सुन्धारा सेक्युरिटिज (५२), प्रज्ञान सेक्युरिटिज ((१०), नासा सेक्युरिटिज (५८), सुमेरू सेक्यूरिटिज (३९), आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (५७), इम्पेरियल सेक्यूरिटिज (४५), दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउस (५९) डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज (४४), दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (३३), स्वेता सेक्युरिटिज (२५), निभ सेक्युरिटिज (४७), सिप्रवी सेक्युरिटिज (२२) र अनलाईन सेक्युरिटिज (४९)

Advertisement

Advertisement

Advertisement