म्याग्दीमा बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

Advertisement

गलेश्वर । असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ ।

शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए । उनीहरुमध्ये १० वर्षीया प्रवीनाको शव आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार शव आफन्तको जिम्मा लगाइएको छ ।

बगरफाँट स्थायीरुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुई बालिका बेपत्ता भएका थिए ।

बेपत्तामध्ये अनुश्का परियारको अवस्था भने अझै थाहा हुन सकेको छैन । खोलाले धार परिवर्तन गरी बस्तीतिर आएको बाढीले बगरफाँटमा स्थायीरुपमा बस्ने दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति गरेको छ भने तीन घरमा आंशिक क्षति गरेको छ ।

सोही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ ।

Advertisement

Advertisement

Advertisement