पुलिस चौकी खोज्दै बैंकका सिइओ, भन्छनः यस्तो दिन आउने कल्पनै थिएन

Advertisement

काठमाडौं । ‘अब जहाँ जहाँ पुलिस चौकी छ, त्यहिँ त्यहिँ मात्रै एटिएम राख्ने भनेर राष्ट्र बैंकले सर्कुलर जारी गर्दा हुन्छ, हामी पनि त्यसै गर्छाै नत्र यसरी सेवा दिन सकिन्न, हामी पनि पुलिस चौकी खोज्दै जाउँला’, यो भनाई हो एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको । यतिबेला बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु इतिहासकै सबै भन्दा त्रासमा छन् । एकातिर पुँजीको अनुपातमा व्यवसाय विस्तार र नाफा बढाउनुपर्ने चुनौती छ ।

अर्का तिर एटिएम देखि पुरै प्रणाली ह्याकको लफडा आईपरेको छ । त्यहि बिचमा बैंकिङ कसुरको तरबारले बैंकका सिइओहरु इतिहासमै सबै भन्दा त्रासको वातावरणबाट गुज्रिरहेका छन् । ‘ग्रीनलेज बैंकमा हुँदा दिएको ऋणमा गडबडी भएछ भनेर मलाई पुलिसले उठाएर लैजान्छ की भन्ने त्रासमा छु, हामी जुनसुकै समय जेल जाने वातावरण बन्यो’, नविल बैंकका सिइओ अनिल केशरी शाहले भने ।

उनले कर्जा प्रकरणमा सामेल नै नभएका सिइओहरुलाई समेत बैंकिङ कसुरमा जेल हाल्ने कानुन संसोधन नगरे सबै सिइओहरु जागिरै छाड्ने अवस्थामा पुग्ने चेतावनी पनि दिए । ‘छोरो १८ वर्षको भयो, कजेल जान थालेको छ, भोली नाति नातिना खेलाईरहँदा पुलिसले बैंकिङ कसुरमा समातेर जेल हाल्छ की भन्ने डर आजै देखि पलाउन थालेको छ, यस्तो कानुन संसोधन नभएसम्म काम गर्न सकिने अवस्था छैन’, शाहले भने ।

डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले पनि बैंकका सिइओहरुको मनोबल गिरेको बताउँछन् । ‘व्यापार बढाउने, लगानीकर्तालाई उचित प्रतिफल दिने, ग्राहकलाई राम्रो सेवा दिने काममा लाग्नुपर्ने समयमा बैंकिङ कसुरको तरबार आईलागेको छ, त्यति मात्रै होइन, एटिएमहरुमा सुरक्षा गार्ड राख्नु भनिएको छ, यस्तो व्यवस्थाले हामीलाई कहाँ लैजान्छ ? हामीले कसरी काम गर्नु ?’, ढकालले प्रतिप्रश्न गरे ।

उनीहरुले अब सबै प्रविधिलाई छाडेर अब ढड्डा युगमा फर्काउन खोजिएको आरोप पनि लगाए । ‘अब कम्प्युटर थन्क्याएर, इन्टरनेट बन्द गरेर जनकशिक्षा सामग्री केन्द्रबाट ढड्डा छपाएर काम गर्नुपर्ने हो, ब्याक टु नेचर भन्थे अब त्यस्तै होला जस्तो छ’, अर्का एक सिइओले नाम नबताउने सर्तमा भने । प्रविधिमा आएको जोखिमलार्ई न्युनीकरण गर्न छाडेर राष्ट्र बैंकले एटिएम बुँथमा सुरक्षा गार्ड राख्ने निर्देशन दिएर पश्चगामी कदम चालेको आरोप पनि लगाए । ‘एटिएम बुँथमा गार्ड राख्दैमा एटिएम ह्याक रोकिने हो र ? कोहि आफ्नो पैसा झिक्न जाँदा गार्डले कठालो समाउन मिल्छ ? गार्डलाई को ह्याकर भनेर कसरी थाहा हुन्छ, प्रविधिले ल्याएको जोखिम प्रविधि नै प्रयोग गरेर हटाउने हो, गार्ड राखेर समस्याको समाधान हुन्न’, ति सिइओले भने ।

एउटा एटिएम बुँथमा ३ सिफ्टका लागि ३ जना गार्ड राखेर सेवा दिन सकिने अवस्था नरहेको उनीहरुको निष्कर्ष छ । शाह भन्छनः‘अब एटिएमहरुमा ओपन्ड इज ओपन्ड, ह्वेन ओपन्ड भनेर बोर्ड राख्नुपर्ने भयो, जहिले खुला छ, तहिले खुला छ, अरु बेला छैन भनेर लेख्छौं’, शाहले भने ।

कति छन एटिएम ?
हाल देशभर ३ हजार ३ सय १६ वटा एटिएम बुथ सञ्चालनमा छन् । तिमध्ये २ हजार ९ सय ५१ वटा बाणिज्य बैंकका, ३ सय १८ वटा विकास बैंकका र ४७ वटा फाइनान्स कम्पनीका एटिएम छन् ।

Advertisement

Advertisement

Advertisement