महोत्तरीमा डेढ किलो चाँदीसहित पक्राउ

Advertisement

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सोमवार दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नेपाल नम्बर ९ गण हेक्वा महोत्तरी जलसागरका सशस्त्र प्रहरी उपरीक्षक मिरकृष्ण अधिकारीका अनुसार एक किलो ४०३ ग्राम चाँदीसहित २ जना भारतीय युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको यदुपट्टी ग्राम पञ्चायत बस्ने २१ वर्षीय रोहित साह र २२ वर्षीय सुनिल ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए । बीआर–३०एम–७९९० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी बोकी मटिहानीबाट जलेश्वर आउँदै गरेका दुवै भारतीय युवकलाई शङ्का लागि सशस्त्र प्रहरीले हेक्वा जलसागर अगाडि नै जाँच गर्दा उनीहरू चाँदीसहित पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनीहरूले सो चाँदी नेपाल–भारत तस्करी गर्न लागिएको आशंका गरिएको छ भने चाँदीसहित पक्राउ परेका दुवै भारतीय युवकलाई चाँदी र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Advertisement

Advertisement

Advertisement