तीन करोड लागतमा खानेपानी आयोजना सम्पन्न, झोलङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

Advertisement

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्म बस्तीमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध खानेपानी पिउन पाएका छन् ।

विसं २०६५ बाट निर्माण शुरु भएको सो आयोजना दुई महिना अघि सकिएको हो । सङ्घीय सरकारको रु दुई करोड ८४ लाख, साविकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीबाट रु ३५ लाख र पाइपलाइन विस्तारका लागि बर्दघाट नगरपालिको रु छ लाखको लगानीमा सो आयोजनाको निर्माण सम्पन्न भएको दाउन्नेदेवी खानेपानी समितिका सचिव दुर्गा चौधरीले बताएका छन् ।

आयोजनाबाट बर्दघाट नगरपालिका–१४ धर्मबस्ती, गङ्गाबस्ती, सूर्यनगर, शीतल बस्तीलगायतका स्थानीयवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । साविक दाउन्नेदेवी गाउँ विकास समितिका वडाअन्तर्गत हाल बर्दघाट नगरपालिका–१४ का करिब एक हजार २०० घरधुरीलाई शुद्ध पानी वितरण गरिने योजना रहेको समितिका अध्यक्ष सूर्य आलेले जानकारी दिए ।

अहिलेका लागि दुई लाख २५ हजार लिटर क्षमता भएको ट्याङ्की निर्माण गरिएको र अपुग भएमा बोरिङमार्फत पानी रिजर्भ र फिल्टर गरी जनसमुदायलाई शुद्ध पिउने पानी वितरण गरिने योजना बनाइएको समितिले जनाएको छ ।

झोलङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ ९तल्लेबेलहानी० र वडा नं १४ डेढ नम्बर जोड्ने खजुरा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बर्दघाट नगरपालिका–१४ र खजुरा खोला पारी रहेको वडा नं ७ तल्लो बेलहानी जोड्ने गरी निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा नं १४ का अध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् ।

सङ्घीय सरकारको करिब रु एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण कार्य भइरहेको छ । पुलको लम्बाइ १२१ मिटर र चौडाइ साढे एक मिटर रहेको पुल निर्माणको जिम्मा लिएका बिएलटी कन्स्ट्रक्सनले जनाएको छ ।

पुल निर्माणको समय अवधि १८ महिनाको रहे पनि स्थानीयस्तरबाट सबैको सहयोगका कारण करिब छ महिनाभित्रै निर्माण सकिने लक्ष्य लिएको निर्माण कम्पनीका प्राविधिक क्याम्प थापाले जानकारी दिएका हुन् ।

Advertisement

Advertisement

Advertisement