डाइनामिकको झण्डासहित पाण्डे पुगे मनास्लुको चुचुरोमा

Advertisement

काठमाडौं । हिम टाकुरा टेक्नका लागि मृत्युलाई जित्नुपर्छ । सबै हिमाल आफैमा कठिन हुन्छन् । त्यसमध्ये पनि केही यस्ता हिमाल छन्, जहाँ ज्यानलाई दाउमा राख्नुपर्छ । मनास्लु् त्यस्तै हिमाल हो । त्यसैले त यसलाई उपमा दिइएको छ, किलर माउन्टेनको । अरु हिमालभन्दा निकै जोखिमपूर्ण मानिन्छ । मनास्लुको कठोरतासँग जुध्ने सहास जो कोहिसँग छैन । त्यसैले हिमाल आरोहणको सूचीमा यो हिमाल सायदै समेटिन्छन् ।

हो यहिँ विश्वको आठौं अग्लो ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा चुम्न सफल भएका छन् नेपाल स्काउटका युवा लिडर प्रकाशराज पाण्डे । पाण्डेले यसै वर्षको वसन्त ऋुतुमा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण समेत गरिसकेका छन् ।

गत हप्ता अर्थात असोज ९ गते सो हिमालको सफल आरोहण गरेको आरोहणपछि काठमाडौं फर्केका पाण्डेले बताए । पाण्डेले डाइनामिक स्काउट युनिट र नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागो र मस्कट अंकित व्यानर मनास्लु हिमालको चुचुरोमा पु¥याएका छन् ।

पाइनर एडभ्यान्चर प्राली मार्फत गाइड फुर्वा कुसांग शेर्पासंग पाण्डेले मनास्लु हिमाल आरोहण गरेका हुन् । पाण्डेले विश्व स्काउटका प्रर्वतक लर्ड वेडेन पावेलको नाउँमा नामाकरण गरिएको रसुवाको लाङटाङ्गस्थित ५ हजार ८९० मिटर अग्लो ‘वेडेन पावेल स्काउट हिमाल’ दुई पटक सफल आरोहण गरिसकेका छन् भने सोलुखुम्बुकै ६ हजार १६० अगलो हिमाल ‘आइल्याण्ड पिक’ २०१६ मा चढेका थिए । त्यसैगरी २०१८ मा ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको पनि आरोहण गरेका छन् ।

विश्व स्काउट संगठन र म्यासेन्जर अफ पिसको आधिकारिक झण्डा लिएर सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पाण्डे विश्वकै पहिलो स्काउट मानिन्छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आगामी वर्षबाट पाण्डेले सातै वटा महादेशको अग्लो हिमालहरु चढ्ने योजना राखेको बताए ।

रामेछाप, लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुंगमा जन्मेका पाण्डे हाल महालक्ष्मी नगरपालिका २ इमाडोलमा बस्दै आएका छन् । बाह् वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका पाण्डे डाइनामिक स्काउट युनिटका सद्भावना दुत समेत हुन् ।

Advertisement

Advertisement

Advertisement