दशैं मनाउन ११ लाखभन्दा बढी काठमाडौंबाट बाहिरिए, बढी भाडा लिने सवारीसाधन कारबाहीमा

Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ नजिकिएसँगै उपत्यका बाहिर घर भएका सर्वसाधारणहरु बाहिरिने संख्या बढ्दै गएको छ । रोजगारी तथा पढाईको शिलशिलामा उपत्यका छिरेका आममानिस टिकट पाउनै हम्मे–हम्मे पर्दा पनि बाहिरिनेको संख्यामा भने कमि आएको छैन ।

दशैं मनाउन टिकट बुकिङ खुला भएको असोज ५ गतेदेखि आज बुधबारसम्म ११ लाखभन्दा बढीले काठमाडौं उपत्यका छाडेका छन् । घटस्थापनाका दिनदेखि बुधबारसम्ममा साढे ६ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् । पछिल्लो २४ घण्टामा भने १ लाख ९५ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अहिलेसम्म दशैं मनाउन उपत्यका छाड्ने ११ लाख छन् भनी ८ लाख भित्रिएका छन् । यात्रु भित्रिने र बाहिरिनेमा तीन लाखको फरक रहेको महानगरीय ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । उपत्यकाबाट दशैं लागेको चौथो दिन सबैभन्दा बढी १ लाख ८५ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको महानगरले जनाएको छ । उपत्यकाका सबै नाका गरी १७ हजार गाडी उपत्यका बाहिर गएका छन् भने १३ हजार भित्रिएका छन् ।

त्यसैगरी, ट्राफिक प्रहरीले चाडबाडको समयमा राजधानीबाट बाहिरिने यात्रुसँग बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबार्डलक्षित सुरक्षा योजना सार्वजनिक गरेको एक सातामा सो कारबाही गरेको हो । बसपार्कमा सादा पोशाकमा खटिएका प्रहरीले विभिन्न नाकामा आकस्मिक जाँच गर्दा बढी भाडा लिएको जानकारी पाएपछि ती सवारीसाधनलाई कारबाही गरेको हो।

अहिलेसम्म यात्रुसँग बढी भाडा लिने ५० जनाभन्दा बढीलाई कारबाही गरेको बताइएको छ । दशैंमा २५ लाखभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान छ ।

Advertisement

Advertisement

Advertisement