गैरआवासीय नेपाली संघको कोषाध्यक्षमा महेश श्रेष्ठले उम्मेदवारी दिने

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)का लागि हुन लागेको निर्वाचनका लागि महेशकुमार श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

संघको अर्को महिना काठमाडौंमा हुन लागेको नवौं महाधिवेशनबाट निर्वाचित हुने कार्यकारी समितिका लागि श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ कार्यकारी समितिको विभिन्न पदमा रहेर जिम्मेवारी लिन चाहने आकाँक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम अहिले जारी छ ।

प्रारम्भिक चरणमा सामाजिक सञ्जाल तथा अनलाईनहरुमार्फत आफ्नो उम्मेदवारीलाई सार्बजनिकीकरण गर्दै पव्लिकको जनमत बुझ्ने पहिलो कडिकारुपमा आफूलाई अगाडि सार्दै आएको भएता पनि आधिकारिक उम्मेदवारी दर्ता गर्ने बेलासम्म सहमतिका प्रयास तथा आफ्नो उम्मेदवारीबारे पुनःविचार गर्नेहरुका लागि अझै समय बाँकी छ ।

जापानका पूराना तथा स्थापित व्यवसायी व्यवसायीका रुपमा चिनिएका श्रेष्ठले कोषाध्यक्षमा आफूलाई सहयोग र समर्थन गर्न अपिल पनि गरेका छन् । आफू लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएन अभियानमा जोडिँदै आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन चाहेको बताउँदै रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, आधुनिक कृषि, ट्राभल, आइटी, इन्स्योरेन्स, आयात निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही मुलुकमा लगानी भित्राउने कार्यमा आफू सक्रिय रहेको बताएका छन् ।

उनले वित्तिय क्षेत्र आफ्नो अध्ययन र रुचीको क्षेत्र भएकोले यस क्षेत्रमा हासिल गरेको अनुभवलाई सोहीअनुसारको जिम्मेवारीमा रहेर भूमिका निर्बाह गर्न चाहेको बताएका छन् । श्रेष्ठले गैरआवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहीतालाई मुख्य मुद्दाकारुपमा अगाडि सारेका छन् ।

‘गैरआवासीय श्रमिक कल्याण कोष’को स्थापना गरी उक्त कोषमा वार्षिक आठ करोड जम्मा गर्दै जाने ठोस योजनासहित ’मितव्ययिता र पारदर्शिता, आजको आवश्यकता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्वलाई जोड दिँदै कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको श्रेष्ठको भनाई छ ।

उनले १० बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । श्रेष्ठका प्रतिवद्धताहरु यस्ता छनः
१. वार्षिक आठ करोड रुपियाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । (उक्त कोषको स्थापना तथा सञ्चालनका लागि सम्वन्धित पक्षहरुसँग छलफल अगाडी बढाई सकिएको छ)

२. गैरआवासीय नेपाली संघ (एनआरएनए)को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आयव्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।

३. संघको काठमाडौंस्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाइने छ, साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्ने छु ।

४. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम गरिने छ ।

५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने छ ।

६. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।

७. खेलकुद अनि नेपाली भाषा, साहित्य र कला, संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिने छ । युवा, महिला तथा दोस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको समस्या, चुनौती र अवसरका बारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिने छ ।

८. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

९. संघका मुख्य आधार स्तम्भहरु एनआरएनए फाउण्डेशन, पोलिसी इन्ष्टिच्युट, नलेज एण्ड स्किल एकाडेमी, विजनेश एण्ड इन्भेष्टमेन्ट फोरम, माइग्रेशन एण्ड फरिजन वर्कर्स वेलफेयर कमिटि, वमन एण्ड युथ फोरमलाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिने छ ।

१०. नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुका लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनुहुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि बुलन्द आवाज उठाईरहने छु ।

Advertisement

Advertisement

Advertisement