कैदीबन्दीको गुनासोः राज्यले दिएको दशैँ खर्चले एक छाक पुग्दैन

Advertisement

चितवन । सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दशैँ खर्च भनेर रु ३०० प्रतिव्यक्ति दिने गरेको छ । राज्यले दिने रु ३०० ले दशैँका लागि केही पनि नहुने कैदीबन्दीको गुनासो छ ।

विगत १४ वर्षदेखि गैँडा मुद्दामा कैद सजाय भोग्दै आएका राम विहारी चौधरीले सरकारले शुरुदेखि नै दिने गरेको दशैं खर्चले आफूहरुलाई एक छाक मीठो मसिनो खान पनि नपुग्ने गुनासो गरे । उनले भने, ‘महङ्गी बढेको छ, राज्यले लामो समयदेखि कैदीबन्दीको दशैँमा दिने खर्च बढाएको छैन, यसले के किन्नु र के खानु ?’ यस्तै गुनासो विगत सात वर्षदेखि कैद सजाय भोग्दै आउनुभएका पदमबहादुर प्रजा पनि गर्छन् ।

राज्यले अहिलेको महङ्गीअनुसार कैदीबन्दीको दशैँ खर्च पनि बढाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘एक किलो कुखुराको मासुलाई रु ३२० पर्छ, हामीलाई दशैँ खर्च रु ३०० आउँछ । यसले के गर्ने ?’ कारागारमा रहेका सबै जना मिलेर हुनेले धेरै र नहुनेले थोरै रकम जम्मा गरी दशैँ मनाउँदै आएका उनको गुनासो छ । विगत आठ वर्षदेखि कैद जीवन बिताउँदै आएका अमृत गुरुङलाई दशैँ कसरी के गरेर मनाउने भन्ने पिरलो छ ।

मुख्य नाइकेको जिम्मामा काम गर्दै आएका गुरुङभित्र रहेका सबैलाई खुशी बनाउने भन्दै दौडधूपमा छन् । राज्यले व्यवस्था गरेको रकमले टीका थाप्न आउनेलाई टेन्ट राख्ने र टीकाका सामग्री जुटाउनमा नै खर्च हुने उनको भनाइ छ । अहिले कारागार प्रशासन, कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कैदीबन्दीको आन्तरिक व्यवस्थापनले कैदीबन्दीलाई रमाइलो गरी दशैँ मनाउन सहयोग गरिरहेका छन् । दशैँका लागि आवश्यक खाद्यवस्तुको बन्दोबस्त भइसकेको गुरुङले जानकारी दिए ।

कार्यालयमा फूलपातीदेखि दशैँ लाग्ने गर्दछ । फूलतापतीका दिन सबै मिलेर रमाइलोका साथ फूलपाती भित्र्याउने र राँगा काट्ने गरिन्छ भने अष्टमीमा खसी र कुखुरा काट्ने गरिन्छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले राज्यले दिएको सिदाबाहेकको दशैँ खर्चले कैदीलाई केहीमात्रामा राहत भएको भए पनि पूर्ण भने नभएको बताए ।

उनीहरुबाटै रकम सङ्कलन गरेर आन्तरिकरुपमा व्यवस्थापन गरी दशैँमा कैदी तथा बन्दीको दशैँ भने राम्रो हुने उनको भनाइ छ । दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा ७६२ कैदीबन्दी छन् । तीमध्ये ६८ जना महिला र ६९१ पुरुष कैदीबन्दी छन् । कारागारमा आमासँगै तीन नाबालक छन् ।

Advertisement

Advertisement

Advertisement