प्रतिस्पर्धाका कारण दशैंमा पनि सेवा दिँदै बैंकहरु, एटीएमहरु पनि खुल्ला रहने

Advertisement

काठमाडौँ । दसैं बिदामा पनि बैंकहरूले ग्राहकलाई सेवा दिने भएका छन् । सेवा सञ्चालन हुने शाखा, कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध मिलाइसकेको बैंकहरूले जनाएका छन् । चाडपर्वको समयमा ग्राहक बैंकिङ कारोबारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिदाका दिनमा पनि सेवा दिने तयारी गरिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘अरु दिनमा जस्तो सबै स्थानका शाखा सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘ग्राहकको बढी चहलपहल हुने स्थानका शाखा, प्रमुख व्यापारिक स्थानका शाखा (मागअनुसार)मार्फत वित्तीय सेवा दिइनेछ।’ अहिले बैंक तथा वित्तीय संस्थाले हरेक दिन विभिन्न माध्यममार्फत २४सै घण्टा बैंकिङ सेवा दिइरहेको ढुङगानाले बताए। ‘यसपालिका दसैं बिदामा पनि ग्राहकले आफ्नो नजिकको बैंकमा गएर रकम झिक्ने र राख्ने काम गर्न सक्छन्,’ उनले भने, ‘यसका लागि ग्राहक बैंकहरूले तोकेको समय र शाखामा जानुपर्नेछ।’

दसैंमा पैसाको कारोबार धेरै हुन्छ। त्यसकारण पैसा झिक्न र राख्नका लागि पनि बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्छ। सेवाग्राहीको यही आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले विगतका वर्षहरूमा जस्तै यस वर्षको दसैं बिदामा पनि कार्यालय खुला राख्ने भएका हुन्। बैंकहरूले टीकाका दिनबाहेक सबै बिदाका दिन दैनिक २ देखि ३ घण्टा तोकिएका निश्चित कार्यालय खुला राख्नेछन्। तर, ३ सय ६५ दिनमै बैंकिङ सेवा दिने बैंकले टीकाको दिन पनि बैंक खोल्ने तयारी भएको अध्यक्ष ढुंगानाले बताए।

बैंकिङ क्षेत्रको विकास र विस्तारसँगै पछिल्ला वर्षहरूमा बैंकहरूबीच प्रतिस्पर्धा पनि बढ्दै गएको छ। बढ्दो प्रतिस्पर्धाले सेवाको विविधता र गुणस्तर बढाएको छ। परिणाम बैंक तथा वित्तीय संस्थाले २४सै घण्टा बैंकिङ सेवा र ३६५ दिनमै बैंकिङ सेवा दिइरहेका छन्। यसपालिको दसैंमा पनि सेवाग्राहीलाई कसरी धेरैभन्दा धेरै सेवा दिने भन्ने प्रतिस्पर्धामा बैंकहरू जुटेका छन्। बैंकले दसै बिदाका दिन सेवा दिए पनि कार्यालय खोल्ने समय फरक–फरक हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए। ‘बैंकले ग्राहकको माग, सुरक्षा, कर्मचारी व्यवस्थापनलगायत पक्षलाई ध्यानमा राखेर उपयुक्त समयमा कार्यालय खोल्ने तालिका बनाएका छन्,’ उनले भने, ‘ग्राहकले आफ्नो खाता रहेको बैंकले तोकेको समय र शाखामा गएर बैंकिङ कारोबार गर्न सक्छन्।

सुरक्षा प्रबन्ध
दसै बिदामा सञ्चालन हुने बैंकिङ कारोबारका लागि बैंकले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। कार्यालयभित्र र बाहिरको सबैतिर सुरक्षा प्रबन्ध मिलाइएको उनीहरूको भनाइ छ। आन्तरिक तयारीका लागि कर्मचारी व्यवस्थापन, सफ्टवेयर सुरक्षालगायतको सुरक्षामा ध्यान दिइएको छ भने बाह्य सुरक्षामा नेपाल प्रहरीको सहयोग पनि लिइएको छ। सुरक्षा प्रबन्धकै लागि कुन–कुन शाखा कुन समयमा खुृल्दै छन् भन्ने जानकारी बैंकहरूले प्रहरीलाई पनि बुझाएका छन्। यसका आधारमा प्रहरीले पनि आफ्नो हिसाबले सुरक्षा दिने बताइएको छ।

६२ अर्ब नयाँ नोट बाहिरिए
यो वर्षको दसैंका लागि राष्ट्र बैंकबाट करिब ६२ अर्ब रुपैयाँ नयाँ नोट बाहिरिएको राष्ट्र बैंकका प्रवक्ता निरौलाले बताए। यसमध्ये करिब ११ अर्ब रुपैयाँ सिटहीमार्फत र बाँकी ५१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मागअनुसार वितरण गरिएको उनले बताए। त्यसो त नयाँ नोट सटहीमा बजारमा मुद्रा आपूर्ति बढ्दैन। पुराना नोट लिएर नयाँ नाटे सटही गरिदिने भएकाले मुद्रा आपूर्ति बढ्दैन। तर, उल्लिखित ५१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले विभिन्न राष्ट्र बैंकको खातामा राखेको रकम हो। आफ्नो खातामा रहेको रकम दसैंको बेलामा बैंक तथा वित्तीय संस्थाले झिकेका हुन्। यसरी झिक्दा उनीहरूले ५ सय र हजार दरका नयाँ नोट निकालेको राष्ट्र बैंकले जनाएको छ। यसरी बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो खाताको पैसा निकाल्दा बजारमा मुद्रा आपूर्ति बढ्छ।

यसपालि राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको हो। प्रतिव्यक्ति साढे १८ हजारका दरले सर्वसाधारणले नयाँ नोट पाएका छन्। गत वर्ष प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट वितरण गरिएको थियो।

२४सै घण्टा एटिएम
कुनै विशेष कारणबाहेक बैंक तथा वित्तीय संस्थाका एटीएम २४सै घण्टा चालु रहन्छन्। यसकारण दसैं बिदामा पनि ग्राहकले एटीएममार्फत रकम झिक्न सक्छन्। दसैंमा निश्चित स्थानमा सीमित शाखा केही घण्टाका लागि मात्र खुल्ने भएकाले बैंक तथा वित्तीय संस्थाले एटीएमलाई झनै प्रभावकारी बनाइएको हुन्छ। ‘बिदाको दिनमा पनि ग्राहकले बैंकका निश्चित शाखाबाट तोकिएको समयमा र एटीएमबाटै २४सै घण्टा बैंकिङ सेवा लिन सक्छन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष ढुंगानाले भने।

२४सै घण्टा एटीएम चालु रहे पनि योपटक करिब एक दर्जन बैंकका एटीएम कार्ड अर्को बैंकको एटीएम मेसिनमा चल्ने छ्रैनन्। यसअघि नक्कली एटीएम कार्डमार्फत चिनियाँ नागरिकले एटीएसबाट पैसा चोरे पनि नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम ९नेप्स० मार्फत सञ्चालन भएका बैंकका एटीएम अर्को बैंकको एटीएम ९क्रस एटीएम० मा चल्दैनन्। नेप्सअन्तर्गत ११ वटा वाणिज्य बैंक र ६ वटा विकास बैंकका एटीएम सञ्चालनमा छन्।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement