यो सरकार आएपछि नागरिकको जीवनमा परिवर्तन आइसक्योः ओली

Advertisement

दमक । प्रधानमन्त्री केपी ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा सोमबार आफ्नो गृह क्षेत्र झापाको दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आपूmले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए ।

प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै पनि सम्झौता नगर्ने बताए । वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताउँदै उनले हुनेखानेको भन्दा पनि हुँदा खानेको जीवनमा परिवर्तन देखिएको दावी गरे ।

ओलीले भने, “वास्तविकरुपमा जो सर्वहारा छन्, विपन्न छन्, उनीहरुमा सरकारको अनुभूति पुगेको छ ।” कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजेपनि त्यस्ता कुराले समाजमा गलत प्रभाव मात्र पार्ने छ भन्दै उनले भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकताका साथ लागि परेकाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले हरेक वर्षको दशैँंमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन् । यस अघिका वर्षमा उनले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए । यस वर्ष भने उनले आफ्ने गृहनगर दमकमा कार्यक्रमको आयोजना गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली समाजको सद्भाव र एकतालाई बलियो पार्न हरेक चाडवर्पको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेकपाका प्रदेश नं. १ का इन्चार्ज भीम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्धरुपमा लागि परेको भन्दै केही भ्रमलाई चिर्न सबै एक हुनुपर्ने बताए ।

स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का प्रमुख डाक्टर गोविन्द तुम्बाहाङ्गले चाडपर्वलाई सांस्कृतिसंगै मौलिकताका रुपमा मनाउनुपर्ने बताए ।

कार्यक्रममा झापाका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किएका छन् ।

Advertisement

Advertisement

Advertisement