महत भन्छन्– चिनियाँ राष्ट्रपतिलाई मैले निम्ता गरेको हुँ

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’ महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै भएपनि नेपाल आउनु खुशीको कुरा भएको स्पष्ट पारे ।

उनले भने, ‘म परराष्ट्रमन्त्री भएको बेला नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका थियौं, उहाँले त्यतिबेला पनि उपयुक्त समयमा आउने कुरा गर्नुभएको थियो । उहाँ अब आउँदैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो ।’

महतले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको सुनाए । उनले भने, ‘चीनको समृद्धि अहिले दिनानुदिन बढिरहेको छ । विश्वमै चीन शक्तिशाली देशको रुपमा स्थापित भैसकेको छ । हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।’ आफ्नो पार्टीले विपी कोइरालाको पालादेखि नै चीनसँग सुमधुर सम्बन्ध राखेको पनि महतले स्पष्ट पारे ।

उनले आफूहरुले कुन देशसँग कुन राजनीतिक पद्दती वा प्रणाली छ भनेर सम्बन्ध राख्ने भन्दा पनि एउटा देशको अर्को देशसँग आपसी हितमा केन्द्रित रहेर सम्बन्ध राख्नुपर्ने बताए । र, अहिले सोहीअनुसार आफूहरु अघि बढिरहेको पनि महतको जिकिर छ ।

चीनसँग पनि सुमधुर सम्बन्ध राख्दै अघि बढ्नुपर्ने बताउँदै महतले एक–अर्काको जायज चासो र चिन्ताप्रति गम्भीर हुनुपर्ने बताए । नेपालले आफ्नो राष्ट्रिय आवश्यकता प्राप्त गर्ने केही अधिकार क्षेत्र रहेको सुनाउँदै सोहीअनुसार सम्बन्ध अघि बढाउनुपर्ने उनको भनाई छ । महतले भने, ‘नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्तालाई ध्यानमा राखेर आफ्नो एजेण्डा अघि सार्नुपर्छ ।’

आफू नै परराष्ट्रमन्त्री हुँदा बीआरआई परियोजनाबारे सम्झौता भएको सुनाउँदै अहिलेको सरकारले त्यसलाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने महतको भनाई छ । उनले चिनियाँ लगानी नेपालमा आमन्त्रण गर्नुपर्ने पनि सुझाए ।

महतले भने, ‘नेपालमा चिनियाँ लगानी भित्र्याउन सक्यौं भने दुई देशबीच रहेको व्यापार घाटा घटाउन सकिनेछ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हुने उच्चस्तरीय छलफलमा यो विषयमा कुराकानी हुनुपर्छ । नेपालबाट चीन निर्यात हुने वस्तुमा शुन्य भन्सार लागत कायम गर्नेबारे पनि कुराकानी हुनुपर्छ ।’

त्यस्तै, उनले नेपालले चीनसँगको सम्बन्धमा सडक सञ्जाल अघि बढाउनेबारे ध्यान दिनुपर्ने पनि सरकारलाई सुझाव दिए । उनले भने, ‘चीनसँग हामीले १२ महिनै चल्ने सडक सञ्जाल बनाउनुपर्छ । त्यस्तै, अरु नाकाहरुपनि खोल्नुपर्छ ।’ पछिल्लो समय नेपालमा रेलवेबारे धेरै बहस भएको सुनाउँदै महतले रेलमा लगानी गर्दा समयमै प्रतिफल नआउनेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

भारत र चीनबीच जबसम्म नेपाल भएर व्यापार हुँदैन्, तबसम्म रेलमा लगानी गर्नु नेपालको लागि घाटा हुनेपनि उनको संकेत छ । महतले भने,‘ऋण लिएर रेलवेमा लगानी गर्दा यसले प्रतिफल दिँदैन् । हामीले लगानी मूल्य त परै जाओस्, सञ्चालन मूल्यपनि उठाउन सक्दैनौं ।’ महतले नेपालले आन्तरिक सडक सञ्जालको विकासमा नै बढि जोड दिनुपर्ने सुझाव पेश गरे ।
तर, ऋणमा नभई अनुदानमा रेल बनाउने कुरा भए त्यो भने स्विकार्य हुने उनको तर्क छ । चीनबाट काठमाडौं आउने रेलमात्रै नभएर भारतबाट काठमाडौं आउने रेलपनि अनुदानमा नै बनाउनुपर्ने उनको धारणा छ । उनले भने,‘हामीले आफैं बनाउन सक्ने अवस्था छैन् । त्यसैले ऋणमा पनि बनाउनुहुँदैन् । बरु, अनुदानमा नै बनाउनुपर्छ ।’

नेपालको आफ्नो साधन र स्रोतलाई ध्यान दिएर अघि बढ्नु नै आजको आवश्यकता रहेको महतको भनाई छ । ऋणको बोझमा बस्नुभन्दा पहिले यसको आर्थिक प्रतिफल के आउँछ ? र कहिलेसम्म आउँछ भन्ने कुरामा बढि ध्यान दिनुपर्ने पनि उनको भनाई छ ।

महतले भने, ‘रेलको कुरा गरेर बढि सेन्टिमेन्टल हुन जरुरी छैन् ।’ महतले नेपालले छहरे–टोखा सुरुङमार्गको बारेमा सोच्नुपर्ने बताए । उनले भने, ‘सुरुङमार्गको विकास गर्न सकियो भने चीनसँगको सडकमार्ग एकदमै छोटो हुन्छ ।’

महतले चीनको एक चीन नीतिको चासोमा नेपाल सधैं प्रतिबद्ध रहेको पनि सुनाए । उनले भने, ‘नेपालको भूमी कसैको खिलाफमा पनि प्रयोग हुन दिँदैनौं । नेपाल यसप्रति सजग छ । हामी हाम्रो राष्ट्रिय स्वार्थका आधारमा र आपसी हितको आधारमा अघि बढ्छौं ।’

चीनसँग सरकारले सुपुर्दुगी सन्धी गर्न लागेको छ भनेर बाहिर चर्चा छ नि भनेर सोधिएको एक प्रश्नमा महतले भने, ‘यसबारेमा नेपालले थप छलफल गर्नुपर्छ । यसबारेमा समान दृष्टिकोण हुनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement