यो सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई परिणाममुखी बनाउँछः बास्कोटा

Advertisement

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भ्रमणका कार्यसूचीका विषयमा दुवै देशका अधिकारीबीच भइरहेको छलफलको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढिरहेको उल्लेख गरे ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले भ्रमणका लागि उच्च सुरक्षा तयारी र सतर्कता कायम गरिएको र यसलाई पूर्ण रुपमा सफल र ऐतिहासिक बनाउने कुरामा सबैपक्ष पूर्णरुपमा सहमत, सचेत र गम्भीर भएको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङबाट नेपालको राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै छन्।

प्रधानमन्त्री केपी ओलीले आजै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, विज्ञ तथा चीनका लागि नेपाली पूर्वराजदूतसमेतको बैठक आयोजना गरेका थिए । उक्त बैठकमा प्रधानमन्त्रीले भ्रमणलाई ऐतिहासिक बनाउन सबैको साथ र सहयोग रहने तथा यसलाई ऐतिहासिक बनाउन भ्रमणका क्रममा कुनै प्रयास बाँकी नराखिने बताएको मन्त्री बास्कोटाले जानकारी दिए। बैठकमा दुई देशका नेताहबीचको सम्बन्ध पूर्ण विश्वासिलो बन्नुपर्छ भन्ने सुझाव आएको र सरकारले त्यसलाई सकारात्मक रुपमा ग्रहण गरेको सरकारका प्रवक्ताले बताए।

मन्त्री बास्कोटाले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट हुन लागेको यस भ्रमणलाई नेपाल सरकार र नेपाली जनताले अत्यन्त भव्यतापूर्वक सफल बनाउन सङ्कल्प गरेकाले यसलाई परिणाममुखी बनाउन सम्पूर्ण तयारी पूरा गरिएको बताए । भ्रमणका समयमा आपसी हितका सबै विषयमा छलफल हुने तथा नेपालले पहिलादेखि उठाएको र दुई देशबीचका सबै विषयमा सौहार्दपूर्ण अवस्थामा दुई देशका अधिकारीबीच छलफल भइरहेको पनि उनले जानकारी दिए।

उनले द्विपक्षीय वार्तामा मुख्यतः रेल्वे, सडक, अप्टिकल फाइबर र विद्युतीय ट्रान्समिसन लाइन समेटिएको हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल (ट्रान्स हिमालयन मन्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क)का विविध पक्षमा छलफल हुने र यसले दुई देशका नागरिकबीचको व्यापार सम्बन्ध बढाउने तथा उत्पादन र उपभोक्तालाई जोड्न बलियो सेतु उपलब्ध गराउने विश्वास व्यक्त गरे।

चीनसँग जोडिने पहिलो राजमार्ग अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौँ सुरुङ तथा रेल, अन्तरसीमा विद्युत् प्रसारण, सीमा व्यवस्थापन, किमाथाङ्का र कोराला नाका, हिल्सा सडक र उत्तर दक्षिण करिडोरका विषयमा पनि छलफल हुने उनले जानकारी दिए।

उनले दुवै पक्षबीच यस्ता विषयमा सकारात्मक ढङ्गले छलफल भइरहेको र भ्रमणका दौरानमा वार्ता र छलफलको क्रममा यी विषय थप परिष्कृत हुने बताए। उनले दुई राष्ट्रपतिबीच बैठक हुने, रात्रिभोज आयोजना गरिने, चिनियाँ राष्ट्रपति सीबाट प्रधानमन्त्री केपी ओलीसँग औपचारिक वार्ता हुने र त्यस क्रममा परियोजना तथा चासोका विषयमा समझदारी र समझौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको बताए।

उनले कुनै पनि देशले सबै परियोजना कसैका लागि पनि निः शुल्क बनाइदिन नसक्ने तथा कतिपय विषय सद्भावमा भर पर्ने उल्लेख गर्दै यसमा सबै पक्षको सद्भाव प्राप्त हुने, कसैको पनि विरोध नहुने र भ्रमणलाई ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध भएर उभिएको दाबी गरे ।

मन्त्री बाँस्कोटाले दुई मुलुकबीच सम्बन्ध समस्यारहित रहेको बताउँदै राष्ट्रपति सीको भ्रमणलाई नागरिक रुपमा पनि तीव्र प्रतीक्षा गरिएको र सफल होस् भनेर कामना गरिएको उल्लेख गरे।

उनले ली सियान, ज्याङ जमिनपछि सी नेपाल भ्रमण गर्ने तेस्रो चिनियाँ राष्ट्रपति भएको र यो सिङ्गै देशको गर्वको विषय भएको बताए। चिनियाँ राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्दै छन्।

Advertisement

Advertisement

Advertisement