रेलमार्ग निर्माणमा सहयोग गर्ने राष्ट्रपति सीको संकेत, नेपालको सपना साकार पार्ने प्रतिवद्धता

Advertisement

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालीको ‘भूपरिवेष्टित मुलुक’बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा शनिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा सम्बोधन गर्दै भने, ‘दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्नेछौं र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।’

नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले हरसम्भव साथ–सहयोग दिने बताउँदै सीले केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्रपति सीले सम्बोधनका क्रममा चीनले नेपालको आर्थिक विकासको आकांक्षालाई सघाउने र नेपाल पनि त्यसको कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने मनसाय व्यक्त गरेका थिए । उनले नेपालको विकासमा साझेदारी गर्न चीन तत्पर रहेको र नेपालले पनि ‘अघि सारिएका योजनाहरू पूरा गरेरै छाड्नुपर्ने’ बताए । ‘हामीले बनाएका योजना पूरा गरेरै छाडौं । हामीले चीनमा पनि यस्तै गर्ने गरेका छौं,’ राष्ट्रपति सीले भने ।

चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गरिने घोषणा पनि गरे । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नति गर्ने पनि उनले बताए । नेपालले अपेक्षा गरेका योजनाहरूलाई आफ्नो सम्बोधनमा राष्ट्रपति सीले बुँदागत रूपमा उल्लेख गरेका थिए ।

  • नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ

  • बढी नाकाहरू खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं

  • केरुङ–काठमाडौं सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामीसक्रिय हुनेछौं

  • अरनिको राजमार्ग सञ्चालनसुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं
    हाम्रो साझा हिमालय क्षेत्र रक्षागर्न सदा तत्पर रहनेछौं

  • हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं

  • चीन र नेपालको सम्बन्धमा समस्याछैन, मित्रता मात्रै छ
    –राष्ट्रपति सी


‘केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं,’ राष्ट्रपति सीले भने । नेपालसँग जोडिएका उत्तरी नाकाहरू खोल्ने विषयमा पनि चिनियाँ राष्ट्रपतिले आफ्नो सम्बोधनमा छुटाएनन् । बढीभन्दा बढी नाका खोलेर बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्ने राष्ट्रपति सीको घोषणा थियो ।

‘मलाई आशा छ– दुई देशका जनताबीचको समझदारी आउने दिनमा अझ बढ्नेछ,’ राष्ट्रपति सीले भने । नेपालमा भूकम्पपछिका परियोजनाहरूलाई सक्रियताका साथ अघि बढाइरहेको प्रसंगसमेत राष्ट्रपति सीले जोडेका थिए ।

‘नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविष्यप्रति मेरा आशाहरू जागेका छन्,’ सीले सम्बोधनमा भने, ‘मलाई आशा छ, दुई देशले अझ घनिष्ट राजनीतिक सम्बन्ध राख्नेछन् ।’

दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा दुई देशले विश्वमै आपसी मैत्री सम्बन्धको नमुना प्रस्तुत गरेको भन्दै उनले ‘चीन र नेपालको सम्बन्ध बीचमा केही समस्या छैन, मित्रतामात्रै छ’ भनेर राजकीय भोजमा उपस्थित सहभागीको स्याबासी बटुलेका थिए ।
कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement