गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौंमा सुरु, तर पत्रकारलाई प्रवेशमा प्रतिवन्ध

Advertisement

काठमाडौं । गैरआवासीय नेपालीहरुको नवौं विश्व सम्मेलन तथा महाधिवेशन काठमाडौंमा सुरु भएको छ । एकासी देशका दुई हजार पाँचसयभन्दा बढि प्रतिनिधिहरु सहभागी सम्मेलनको उद्घाटन राष्ट्रपति भण्डारीले गरिन् ।

हायात होटलमा आयोजित कार्यक्रममा सहभागी हुन मिडियालाई भने अवरोध गरियो । बिहान कार्यक्रम उद्घाटनको निम्तो पाएर गएका पत्रकारहरुलाई पास नभएको भन्दै रोकेका थिए । आयोजकले भने सम्मेलन उदघाटनकै क्रममा सबैलाई पास उपलब्ध गराउने भन्दै सोमबार नाम मात्रै टिपाएको थियो ।

राष्ट्रपति आउने भनेकाले सुरक्षा कडा गरिएको हायात होटलमा मिडियालाई बाहिर नै रोकेर कार्यक्रम गरिएको थियो । सरकारले उपलब्ध गराएको तथा सम्वन्धित संस्थाको प्रेस पासलाई नमान्ने र आयोजकले पनि छुट्टै पास नदिँदा अधिकांश मिडियाका प्रतिनिधिहरु कार्यक्रमस्थलमा जानबाट बन्चित भए ।

सम्मेलनमा विश्वभरबाट आएका गैरआवासीय नेपालीहरु आफूहरुको संगठनलाई कसरी मजबुत बनाउने र मातृभूमिको विकासमा योगदान दिने ? भन्ने बहसमा भन्दा पनि गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको चुनावी रौनकमा रमाइरहेको देखिन्छ । गैरआवासीय नेपाली संघको कार्यसमितिका लागि यस महाधिवेशनले नेतृत्व चयन गर्नेछ ।

उद्‍घाटनका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए । विगतका परराष्ट्रमन्त्रीहरुले जस्तै उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सकिने दोहोर्याए ।

ज्ञवालीले गैरआवासीय नेपालीको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने पनि बताए ।

Advertisement

Advertisement

Advertisement