निलम्बित सांसद आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

Advertisement

काठमाडौं । रौतहटमा भएको एक बम काण्डको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब आलमलाई अदालतले अनुसन्धानको लागि थप हिरासतमा राख्न अनुमति दिएको छ।

कानुनको हात लामो हुन्छ भन्ने भनाइ यति बेला चरितार्थ भएको छ । पटकपटक मन्त्री भएका, दुई कार्यकाल नेपाली कांग्रेस रौतहटको सभापति भएका तथा कोइराला परिवारसँग घनिष्ट सम्बन्ध भएका आलम कानुनी कठघरामा पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई मंगलवार बिहान रौतहट जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले प्रहरीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि सात दिनको म्याद दिएको छ। प्रहरीको अनुसन्धान जारी रहेको छ ।

एसपी भूपेन्द्र खत्री प्रहरी प्रमुख भएर आएपछि भने अनुसन्धान अगाडि बढेको छ। खत्रीले सरकारी वकिलको कार्यालय तथा अन्य कानुनविद्सित परामर्श गरी घटनाबारे अनुसन्धान गरी यथेष्ट प्रमाण बटुलेर आफताबलाई पक्राउ गरेका छन्। आफताब पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले गौरको सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा प्रहरी उपस्थिति बाक्लो बनाइएको छ भने अन्य जिल्लाबाट समेत थप प्रहरी बोलाइएको छ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लगाइँदै आएको छ। पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।

आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत हुन्। आइतबार बिहान निवासबाटै आलम पक्राउ परेका हुन्।

Advertisement

Advertisement

Advertisement