भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको चन्द्रविनायक मन्दिर पुनःनिर्माण अझै अलपत्र

Advertisement

काठमाडौं । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रस्थित चन्द्रविनायक मन्दिर निर्धारित समयमा पुनःनिर्माण नसकी थप गरिएको तीन महीना बित्न लाग्दा पनि काम शुरु हुन सकेको छैन ।

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि २०७५ असार २४ गते सम्झौता भएको थियो । गत असार मसान्तमा पुनःनिर्माण सकिनुपर्ने मन्दिरको आधा काम पनि नसकिइ अलपत्र बनेको छ । निर्माण व्यवसायी र सरोकार भएका निकायको मिलेमतोमा मन्दिर पुनःनिर्माण नगरी अलपत्र राखिएको भक्तजन रामचन्द्र देवकोटाले गुनासो गरे ।

पुनःनिर्माण अलपत्र हुँदा प्रत्येक हप्ताको मङ्गलबार मन्दिरमा पूजा एवं दर्शनका लागि आउने दर्शनार्थी प्रभावित हुने गरेको उनले सुनाए । उपत्यकाका चार विनायकमध्येको एक चन्द्रविनायक मन्दिर पशुपति क्षेत्रकै एक महत्वपूर्ण सम्पदा हो । मन्दिर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा पशुपति क्षेत्र विकास कोषले ठेक्का लगाएको हो ।

रु एक करोड ४३ लाख ४१ हजार १६० लागतमा पिआर कन्स्ट्रक्सन प्रालीले मन्दिर पुनःनिर्माणको काम गरिरहेको छ । एक दिन काम भए दुई महीनासम्म कामदार नदेखिने गरेकाले काममा वर्षौं लाग्नसक्ने देखिएको स्थानीय रमिता पौडेल गुनासो गर्छन् ।

कोषका निर्देशक भरत मरासिनी पुरातत्व विभागको सुझावअनुसार नयाँ काठमा बुट्टा भर्न केही समय थप लागेको बताउँछन् । आगामी पुस मसान्तसम्म मन्दिर पुनःनिर्माण भइसक्ने कोषले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement