२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Advertisement

काठमाडौं । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक दुई र तीन गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सन्चालन गर्ने भएका छन् ।

कार्यक्रमअन्तर्गत् जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल),छ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइनेछ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।

स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ कार्यक्रमका लागि सात सय ५३ ओटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए । मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ ।

संघीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकताप्राप्त सो कार्यक्रम सफलतापूर्वक सन्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि करिब तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक चार सय भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए । उनले भने–‘भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।’

किन आवश्यक पर्छ भिटामिन ‘ए’

बालबालिकालाई रोगसित लड्नसक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए ।

यसैगरी सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइनेछ । जुकाका कारण रक्तअल्पता एनेमिया खाएको खाना नपच्ने हुने गर्दछ । यसैगरी, बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिका पुड्का ख्याउटे तथा मोटा रहेका छन् ।

पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहारकाबारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत् रहेको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement