आजका बुद्धिजीविहरुले भुलेको सत्य

Advertisement

महाभारत रचनाकाल भन्दा पहिल्यै रचना भएको वसिष्ठ स्मृतिमा भएको एउटा श्लोक आजको परिस्थितिमा पनि सान्दभिक छ । उक्त श्लोकले भन्छ,

अग्निदो गरदश्चैव शस्त्रपाणिर्धर्नापहः ।
क्षेत्रदारापहर्ता च षडेते ह्याततायिनः ।।
आगो लगाउने, बिष खुवाउने, शस्त्र लिएर मार्न उद्यत हुने, धनको अपहरण गर्ने, जग्गाजमिन अपहरण गर्ने र स्त्री हरण गर्ने यी छ आततायी (आतंककारी) हुन । यो आतंककारीको सर्वकालिक परिभाषा हो । सनातनी समाजमा मात्र नभएर सबै समाजमा आतंककारीको यो परिभाषा मान्य नै छ । उपरोक्त छ वटामध्ये कुनै एक काम गर्ने विश्वभरी नै आतंककारी मानिन्छन । कुनै पनि देशको कानुनले पनि यो काम गर्न छुट दिएको छैन ।

केवल केही समाजवादको आवरणमा आफूलाई ढाक्ने देशका कानुनमा यसमध्ये केही कार्य गर्न राज्य संयन्त्रले छुट लिएको पाईन्छ । तर, त्यो छुट पनि पूर्णरुपमा छैन । किन्तु परन्तुको खोल ओडाएर र फलाना उद्देश्यको निमित्त राज्यले कानुन बनाएर यीमध्ये केही काम गर्न सक्छ भन्ने उल्लेख गरेर समाजवादी देशको सरकार केही नागरिकमाथि यो आतंककारी विभेद गर्न उद्यत हुन्छ ।

राज्यको यही तर्कलाई भर्याङ बनाएर कुनै न कुनै राजनीतिक लक्ष्यको ढाल ओडेर विभिन्न समूहहरु पनि आफूले यो काम गर्न पाउनु पर्ने मान्यता राख्दछन । आज मुलुक राज्यको र त्यस्ता समूहहरुको आतंकबाट पोलिएको छ, पिल्सिएको छ । राज्य वा राजनैतिक प्रणालीको निमित्त जनता होईनन्, जनताको निमित्त राज्य वा राजनीतिक प्रणाली हो भन्ने साश्वत सत्य आजका बुद्धिजीविहरुले भुलेका छन ।

सत्ता वा शक्तिको कृपाबाट प्राप्त हुने मान सम्मान, भोग विलास वा धन सम्पत्तिको लोभमा आफ्नो आत्माको आवाजको विपरित काम गर्ने वा मान्यता बनाउने यस्ता बुद्धिजीविहरुलाई के भन्ने ? एउटी महिलाले भौतिक आवश्यकताको निमित्त आफ्नो ईच्छा विपरित कसैसँग पनि यौन सम्बन्ध राख्नु र आफ्नो आत्माको आवाज, आत्मज्ञानले देखाएको बाटो बिपरित काम गर्नु एकै प्रकारको परिस्थिती होईन र ?

त्यो महिलालाई वेश्या नाम दिई तिरस्कृत गर्ने समाजले यस्ता बुद्धिजीविहरुलाई भने अगुवाको नाम दिई सम्मानित गर्नु समाज कै पनि नैतिक पतन भएन भनेर भन्न सकिन्न ? हत्या जुनसुकै उद्देश्यको निमित्त गरेको भए पनि हत्या नै हो । चोरी जुनसुकै कारणले गरेको भए पनि चोरी नै हो । न्यायाधीशहरुले कारण र परिस्थितिअनुसार सजाय कम या ज्यादा गर्न सक्लान । तर, अपराध मुक्त भने गर्न सक्दैनन् । त्यसै गरेर आगो लगाउने काम आतंक नै हो ।

बिष खुवाउने वा हतियार लिएर मार्ने डर देखाई जबरजस्ती गर्ने काम पनि पुण्य हुन सक्दैन । कसैको धनको स्त्री वा परिवारको अपहरण गर्ने र जग्गा जमिन जस्ता कमाई खाने साधन खोस्ने काम जसले गरे पनि आतंककारी काम नै हो । आज कर, छल वा बलले यस्ता कामलाई जत्तिकै राम्रो फुलबुट्टा भरे पनि भोलिले पुनः मूल्यांकन गर्ने नै छ ।

हत्याले कुनै जीवलाई एकै चोटी समाप्त पार्दछ । तर, ज्यान जाने डर, धन सम्पत्ति हरण हुने डर वा आफ्ना परिवारको कुभलो हुने डरबाट पैदा हुने आतंकले उसलाई हरपल तिलतिल गरेर मार्दछ । यस कारण आतंक हत्याभन्दा पनि जघन्य अपराध हो । यस्ता अपराधहरु राज्य, समूह वा व्यक्ति कसैले गरे पनि क्षम्य हुनै सक्दैन । अझ सबै जनताको भलो कुभलोको जिम्मेवार भएको राज्यले यसो गर्दछ भने त्यसको अपराधको त कुनै तुलना नै हुन सक्दैन ।

यदि यस्ता अपराधलाई कसैले महिमा मण्डित गर्दछ भने त्यो त झन ठूलो अपराध हो । समर्थनले काम गर्नेको हौसला बढाउँदछ र अझ धेरै र गम्भीर प्रकारका यस्तै काम गर्न हौसिन्छ । कुनै कारणले यस्ता कामको बिरोध गर्न नसक्नु केही मात्रामा क्षम्य हुनसक्ला । तर, ठिक हो भनेर त्यसको ओठ ढाक्नु त त्यस अपराधमा संलग्न हुनु नै हो । शास्त्रलाई मिथक नै मान्ने हो भने पनि यी हालसालका होईनन । यिनीहरुको रचना परापूर्व नै हुन आउँदछ । तिनीहरुमा वर्णित धटनाहरुलाई काल्पनिक मान्नेहरुले पनि निहीत सुत्र वा ज्ञानका कुराहरुलाई अस्विकार गर्न सक्दैनन् । त्यस ज्ञान वा सिद्धान्तसँग असहमत हुने वा सहमत हुने अधिकार सबैलाई छ ।

सनातनी (हिन्दु) समाजले आफ्ना मान्यताभन्दा फरक विचार वा सिद्धान्त अपनाउनेहरुको पनि अस्तित्व स्वीकार गरेको छ । मान राखेको छ । यसको उदाहरणको निमित्त चार्वाकको नाम नै प्रयाप्त छ । पुनर्जन्म, लोक परलोक वा पापको फल भोग्ने नरक र पुण्यको उपभोग गर्ने, स्वर्गको अवधारणको विपरित खरानी भएर जाने शरिर कहिले पो फर्कन्छ र ? तसर्थ ‘जहिलेसम्म बाच्छौं, सुखि भएर बाँच । ऋण गरेर भए पनि घिउ पिउ’ भन्ने चर्वाकलाई यो समाजले अहिलेसम्म पनि सम्झिरहेको छ । रामायणको खलपात्र रावणले रचना गरेको शिवस्तुति आजपर्यन्त शिव उपासनामा गाईने गरिन्छ । त्यसरी गाउँदा रावणलाई राम्रो र रामलाई खलपात्र भनेर भनिदैन ।

यसरी विवेचना गर्दा सनातनी समाज सबैभन्दा समतामूलक, व्यक्ति स्वतन्त्रताको सम्मान गर्ने तथा व्यक्ति पूजक नभई कामको परिणामको आधारमा मूल्यांकन गर्ने समाज हो ।मेरो पक्षले कुनै काम गरेमा त्यो प्रशंसनीय र मेरा बिरोधी पक्षले सोही काम गर्दा त्यो जघन्य र अक्षम्य अपराध भनेर भन्ने पाखण्डिपन देखाउने तथाकथित बुद्धिजीविहरुबाट आज यो देश आक्रान्त छ । जत्ति क्षति आतंक मच्चाउनेहरुले गर्दछन, त्यो भन्दा कयौं गुणा ज्यादा क्षति त्यसको मतियार हुने बुद्धिजीविले गरेका छन् । काटेको घाउमा नुनचुक छर्ने यस्ताहरुको ज्यादती नेपाली जनताले कहिलेसम्म चुपचाप सहनुपर्ने हो ? त्यो त सर्वशक्तिमान ईश्वरलाई नै थाहा होला ।

Advertisement

Advertisement

Advertisement