कर्णालीमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति

Advertisement

सुर्खेत । कर्णाली प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान गरेको हो ।

अस्पतालका अनुसार करीब नौ हजार नागरिकमा मोतियाविन्दुको समस्या छ । अस्पतालका प्रबन्धक घनबहादुर थापाले बिरामीमध्ये तीन हजार ४०० नागरिकसम्म मात्र उपचारको पहुँच पुगेको बताए । “कर्णालीका कतिपय जिल्लामा स्तरीय आँखा उपचार केन्द्र छैनन्, दूरदराजमा अझै आँखाको समस्यालाई स्वास्थ्य समस्या मान्ने गरिएको छैन्”, उनले भने, “आँखा संवेदनशील अङ्ग भए पनि भौगोलिक विकटता, साक्षरताको कमी र गरीबीका कारण थुपै्र न्यून दृष्टियुक्त व्यक्तिहरु अस्पतालसम्म आउन सक्दैनन् ।”

कर्णाली प्रदेशको एक मात्र सुविधासम्पन्न आँखा अस्पताल भएकाले यहाँ दिनहुँ बिरामीको भीड लाग्ने गर्दछ । प्रबन्धक थापाले प्रदेशका ६० हजार नागरिकलाई वर्षेनी आँखासम्बन्धी समस्याको निदानका साथै परामर्श दिने गरेको जानकारी दिए । आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एकपटक विशेषज्ञद्वारा आँखा जाँच गराउन जरुरी रहेको उहाँको भनाइ छ । अस्पतालले हालसम्म झण्डै एक हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ ।

Advertisement

Advertisement

Advertisement