धितोपत्र बोर्ड अध्यक्षका लागि आधा दर्जन आकांक्षी, राजनीतिक जोड/घटाउको खेल उत्कर्षमा

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आधा दर्जन हस्तीहरुले राजनीतिक जोड घटाउ सुरु गरेका छन् । चार वर्षे कार्यकाल पुरा गरेर डा. रेवत बहादुर कार्की असोज मसान्तबाट घर फर्किएका छन् । उनी केहि दिन अघि नै विदा लिएर विदेश भ्रमणमा निस्किएका छन् । कार्की विदामा बसेपछि बोर्ड अध्यक्षको ‘हट सिट’मा कब्जा जमाउन आधा दर्जन हस्तीहरुको रेस उत्कर्षमा पुगेको छ ।

यतिबेला बोर्ड अध्यक्षको दावेदारका रुपमा बोर्डभित्रकै ३ जना कर्मचारी देखि नेपाल राष्ट्र बैंकका दुई जना पुर्व कार्यकारी निर्देशक तथा आईक्यानका पुर्व अध्यक्षसम्मले लाइन मिलाउने प्रयास गरिरहेका छन् । नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक बासुदेव अधिकारीलाई नेकपाको उच्च नेतृत्वले बोर्डको अध्यक्ष बनाउने आश्वासन धेरै अघि दिएको थियो । यतिबेला अधिकारी नेपाल बैंकको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । धादिङका अधिकारीलाई अर्थमन्त्री डा. युवराज खतिवडाको विश्वास पात्र समेत मानिन्छ । उनको प्रधानमन्त्री केपी ओलीसँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।

उता, राष्ट्र बैंकबाट अवकास पाए लगत्तै बोर्डको सञ्चालक समितिमा नियुक्ती पाएका भिष्म ढुंगानालाई पनि अर्काे दावेदार मानिएको छ । उनलाई राष्ट्रपति विद्या भण्डारीको जोडबलमा ‘चेयरम्यान इन वेटिङ’का रुपमा बोर्डमा पठाईएको बताइन्छ ।  नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का पूर्व अध्यक्ष टंक पनेरु पनि शसक्त दावेदारका रुपमा उदाएका छन् । झापा स्थायी घर भएका पनेरुलाई प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडा दुबैको लाइन मिलाउन सहज रहेको बताइन्छ । नेकपाले लिने महत्वपूर्ण आर्थिक नितिहरुमा पनेरुका सुझाव रहने गर्छ । उनले नेकपा सरकारलाई महत्वपुर्ण आर्थिक नीति तर्जुमा गर्दा सघाउँदै आएका छन् ।

धितोपत्र बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले पनि पछिल्लो पटक अध्यक्षको दौडमा आफुलाई प्रमुख दावेदारका रुपमा उभ्याएका छन् । उनी प्रचण्डका नातेदार समेत हुन् । बर्दिया पुर्ख्यौली घर भएका अधिकारीले बामदेव गौतम देखि बिष्णु पौडेलसम्म पुगेर आफ्ना लागि अनुकुल वातावरण बनाईरहेका छन् । हाल भक्तपुरमा बसोबास गर्दै आएका अधिकारीले महेश बस्नेत मार्फत पनि लबिङ गरिरहेका छन् । डा. अधिकारीले धितोपत्र बजारकै विषयमा विद्यावारिधी समेत गरेका छन् ।

उता, बोर्डकै कार्यकारी निर्देशकद्धय निरज गिरी र परिष्टनाथ पौडेलले समेत अध्यक्ष बन्ने प्रयास गरिरहेका छन् । उनीहरुले बोर्डभित्रबाटै अध्यक्ष बनाउँदा धितोपत्र बजारको विकासमा सहयोग पुग्ने भन्दै लबिङ गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement