काँग्रेस नेताको प्रश्न– राष्ट्रपति के कामले म्यानमार गा हो ?

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘अहिले सभामुख पद रिक्त छ, नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको छ । हाम्रो पार्टी सभापतिले शेरबहादुर देउवाले भनेजस्तै हामी सभामुखमा उम्मेद्धवारी दिन्छौं ।’
नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताए । उनले भने, ‘उहाँको भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएका छन् । यो महत्वपूर्ण कुरा हो । तर, सहमति भएरमात्रै हुँदैन, कार्यान्वयन पक्षलाई पनि कडाईका साथ अघि बढाउनुपर्छ ।’

बस्नेतले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भए पनि दौत्य सम्बन्ध स्थापना भएपछि पनि तीन वटा चिनियाँ राष्ट्रपति र ५ जना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको र सो अवधिमा धेरै सन्धि तथा सम्झौता भएको स्मरण गराए । तर, ती सम्झौताहरु कार्यान्वयन नभएको उनको गुनासो छ ।

नेपालका विभिन्न महत्वपूर्ण परियोजनामा काम गर्ने चिनियाँ ठेकेदारले कमजोरी देखाएको पनि बस्नेतले टिप्पणी गरे । उनले भने, ‘मेलम्ची खानेपानी परियोजनामा पनि चिनियाँहरुले काम गरेकै हो, मध्यभोटेकोशीमा पनि चिनियाँ पक्षले काम गरेका छन् । तर, परिस्थिति हामीले सोचेभन्दा फरक छन् । हामीले त कार्यान्यवन पक्ष हेर्नुपर्छ ।’

कुन–कुन परियोजना कसरी अघि बढाउने ? भन्नेबारे सरकारले प्राथमिकीकरण गर्नुपर्ने बस्नेतको जोड छ । उनले नेपालले सडक सञ्जाललाई बढि प्राथमिकता दिनुपर्ने बताए । बस्नेतले भने, ‘नेपालमा रेल बहुचर्चाको विषय बनाइयो । प्रधानमन्त्रीले त यसलाई प्रतिष्ठाको विषय नै बनाउनेगरि भाषणबाजी गर्नुभयो । अहिले चिनियाँ राष्ट्रपति आउँदा यसको सर्वेसम्म गर्ने कुरा उठेको छ । रेलबारे मेरो भनाई के हो भने यो धेरै खर्चिलो परियोजना हो । यसको लागि चार खर्बको हाराहारीमा पैसा लाग्छ ।’

नेता बस्नेतले चीनसँगका नाकाहरु खोल्नतर्फ ध्यान दिन सरकारलाई सुझाव दिए । उनले तातोपानी नाका लामो समयदेखि बन्द रहेको सुनाउँदै अहिलेपनि मुखले खोलिएको भनिएप नि व्यवहारिक रुपमा बन्द नै रहेको दाबी गरे ।

त्यस्तै, उनले आफ्नो पार्टी सरकारकामा हुँदाखेरि अघि बढाईएको काठमाडौं–खाँडीचौरसम्मको अरनीको राजमार्गलाई चार लेखनको बनाउने कुरा अहिलेको सरकारले प्राथमिकताका साथ अघि नबढाएकोमा पनि गुनासो पोखे । बस्नेतले भने, ‘यसमा हामीले चीनसँग सहमति गरेका थियौं । यसको लागि लाग्ने २४ अर्ब लागत चीनको एक्जिम बैंकले लगानी गर्ने कुरा भएको थियो ।’

उनले ऋण लिएर रेलमार्ग निर्माण गर्न नहुने तर्क गरे । उनले भने, ‘चिनियाँ ऋण लिने देशहरुको आज के हबिगत छ ? यो कुरा हामीले हेर्नुपर्छ । श्रीलंका, केन्या, अफ्रिकी देशहरुको हालत हेर्नुस त, ऋण तिर्न नसकेर चीनले लिजमा त्यहाँको कुरा लिएको छ ।’ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हाईड्रोको बारेमा आन्तरिक तयारी राम्रो नभएको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारले राम्रो मौकाको सदुपयोग गर्न सकेन् । यो गलत कुरा हो ।’

चिनियाँ राष्ट्रपतिले नेपाललाई भुजडित हुने कुरा गर्नु महत्वपूर्ण भएको बताउँदै यसको लागि उनले चिनियाँ सरकारलाई र राष्ट्रपति सीलाई विशेष धन्यवाद व्यक्त गरे । नेता बस्नेतले सरकार कति सफल वा कति असफल भनेर आफूहरुले भन्नुभन्दा पनि नेकपाकै प्रभावशाली नेताहरुले यसबारेमा बोलिसकेको बताउँदै सरकार असफल भएको आरोप लगाए ।

उनले भने, ‘भीम रावलको भनाई हेर्दा पनि थाहा हुन्छ, यो सरकार सफल कि असफल भनेर । माधव नेपालले त संसदमै देश डुब्न लाग्यो माझीदाई बचाईदेउ भनेर अभिव्यक्ति दिनुभयो ।’ बस्नेतले विकास र परराष्ट्र सम्बन्धको कुरा गर्दा नेकपाकै नेताहरु नेपाल र रावलको अभिव्यक्तिबाट पनि सरकार असफल भएको पुष्टि भएको पनि दाबी गरे ।

दुई तिहाई बहुमतको सरकारले धेरै काम गर्नसक्ने अवसर र मौका भएपनि यसलाई सदुपयोग गर्न नसकेको उनको टिप्पणी छ । बस्नेतले भने, ‘सरकारले सहमति र एकताको कुरा मुखले गरेपनि व्यवहारमा त्यस्तो देखिएन, स्वयम सरकारको नेतृत्व गरेको व्यक्ति, यो देशको अभिभावकले कार्यकर्तालाई अरिंगाल बनेर जाईलाग भन्नुहुन्छ ।’

उनले सरकारले आफ्नो अनुकुलमा विद्येयकहरु ल्याउन खोजेपनि आफ्नो पार्टीले त्यसको सशक्त प्रतिकार गरेकोले फिर्ता भएको पनि उदाहरण पेश गरे । बस्नेतले भने, ‘तपाईहरुले हेरिहाल्नुभयो सरकारले मिडिया काउन्सिल विद्येयक कस्तो ल्याउन खोजेको थियो ? भनेर, सुरक्षा परिषदको अधिकार प्रधानमन्त्रीले आफूमा केन्द्रित गर्नुभएको छ । आर्थिक अवस्था त्यस्तै छ । अहिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन हेर्दा थाहा हुन्छ बेरुजुको भोल्युम कति ठूलो छ भनेर । आर्थिक अनुशासन छैन् ।’ उनले वर्तमान सरकार आन्तरिक र बाह्य दुवैतर्फ असफल भएको दाबी गरे ।

बस्नेतले सरकारले जनतालाई निराश बनाएको बताउँदै ओढे कुरा र उखान टुक्काले देश नचल्ने भन्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्य कसे । उनले भने, ‘देशभित्र हामी एक भयौं भने कसैले पनि यहाँ खेल्न सक्दैन् । तर, हामीले अनै अरुलाई खेल्न दिने काम गरिरहेका छौं ।’ उनले राष्ट्रपति विद्यादेवीको म्यानमार भ्रमणको उद्देश्य के हो ? यसले देशलाई के फाईदा हुन्छ ? भन्दै प्रश्नसमेत तेर्साए । त्यस्तै, बस्नेतले प्रधानमन्त्रीको विभिन्न देशमा भएका भ्रमणको उपलब्धि के हो त ? भन्दै प्रश्न गरे ।

Advertisement

Advertisement

Advertisement