पत्रकार बोहोरालाई उपचार खर्चको अभाव

Advertisement

हुम्ला । आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनलाई खर्चको अभाव भएको हो ।

असोज ११ गतेदेखि बिरामी भएका थियो । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो । सिमकोट गाउँपालिका– २ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ । उनको परिवार र जिल्लाका पत्रकारले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । सदरमुकाम सिमकोटस्थित सामुदायिक रेडियो कर्णाली आवाजमा कार्यरत नेपाल पत्रकार महासङ्घ शाखा अध्यक्षसमेत हुन् ।

कमजोर आर्थिक अवस्थाका कारण सहयोगको खाँचो परेको अर्जुनका दाजु विष्णु बोहराले बताए । उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधार भइरहे पनि अझै केही समय अस्पताल बस्नुपर्ने बताएको विष्णुले बताएका छन् । सघन उपचार कक्षमा उपचार भइरहेको उहाँको रगत परीक्षणका लागि भारत पठाइएको छ ।

विष्णुले कम्तीमा १५ लाख आवश्यकपर्ने बताए । “घरबाट ल्याएको पैसा सकियो, दैनिक २० देखि ४० हजारसम्म अस्पतालमा बुझाउनुपर्छ”, उनले भने, “सहयोग जुटेको पैसा पनि सकिँदैछ, लामो समय सघन उपचार कक्षममै राख्नुपर्ने अवस्थाका कारण खर्च धेरै लाग्ने देखिएको छ ।” उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुकलाई अर्जुनका दाजु विष्णुको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको खाता नं ४१९०००४९२७१० मा बचत गर्न अपिल गरिएको छ ।

छ लाख सङ्कलन

जिल्लाका पत्रकारले आफ्ना सहकर्मीको जीवनरक्षाका लागि आर्थिक सहयोग सङ्कलन थालेका छन् । क्रियाशील पत्रकार नवराज महतराका अनुसार हालसम्म करीब छ लाख सङ्कलन भइसकेको छ । उनले सामाजिक सञ्जालबाट समेत सहयोगको अभियान सञ्चालन गरिएको बताए ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफ्नो एक महीनाको पारिश्रमिक प्रदान गर्नुभएको छ । पूर्वमन्त्री एवं सांसद जीवनबहादुर शाही र किर्डाक नेपालका गोविन्द शाहीले ३०/३० हजार व्यक्तिगत सहयोग गर्नुभएको छ । त्यस्तै पत्रकार महासङ्घले र २० हजार, ओदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले १० हजार, सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावलले २० हजार सहयोग गर्नुभएको छ । विभिन्न जिल्लाका पत्रकारबाट संस्थागत र व्यक्तिगतरुपमा सहयोग जुटिरहेको पत्रकार महतराले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement