म्याग्दीमा त्रिचालीस प्रतिशत निजी आवास पुनःनिर्माण

Advertisement

म्याग्दी । त्रिचालिस प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेका मध्ये हालसम्म तीन सय ४६ ले आवास पुनःनिर्माण गरेका छन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय एकाइका अधिकृत यज्ञप्रसाद रिजालका अनुसार आठ सय तीन लाभग्राहीले ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका थिए भने तीन सय ९६ ले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेका मध्ये दुईले अनुदान फिर्ता गरेका छन् भने तीन सय ७२ दोस्रो किस्ता लिन आएका छैनन् ।

भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा विसं २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण शुरु गरिएको थियो । दोस्रो किस्तावापत डिपिसी गरेपछि एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

प्राविधिक आउनुअघि बनेका तीन सय ४८ घरका धनीलाई प्राधिकरणको पछिल्लो निर्णयअनुसार अनुदान उपलब्ध गराइने भएको छ । विसं २०७३ पुसमा इञ्जिनीयर परिचालन गरेर एक हजार तीन सय ५० घर सर्वेक्षण गरिए पनि आठ सय ४८ लाभग्राही पहिचान गरिएका थिए । छुटको गुनासो दर्ता गराएका पाँच सय ३३ पीडितको घर गत जेठमा पुनःसर्वेक्षण गरिएको थियो ।

विसं २०७६ असार मसान्तसम्म पहिलो किस्ता लिएकाले यही कात्तिकसम्म दोस्रो किस्ता, आगामी माघसम्म तेस्रो र गुनासो सम्बोधनबाट थपिएका लाभग्राहीले २०७७ असारसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने समयसीमा तोकिएको छ । भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरीदका लागि थप दुई लाख उपलब्ध गराइएको छ ।

Advertisement

Advertisement

Advertisement