चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सिन्धुवासी खुशी

Advertisement

मेलम्ची । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो । तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा हेरिएको सिन्धुवासीमा यो चासो हुनु अस्वभाविक पनि थिएन ।

विसं २०७२ वैशाख १२ गते आएको महाभूकम्प र लगत्तैपछिको भोटेकोशी बाढीले सडकलगायतका भौतिक संरचना ध्वस्त भएपछि करीब चार वर्ष नाका पूर्णरुपले बन्द भएको यो नाका सञ्चालन गत जेठ १५ गतेबाट भए पनि यथेष्ट सडकलगायत भौतिक संरचनाको विकास र चिनियाँ सरकारले स्पष्ट चासो नदेखाएका कारण नाका फेरि बन्द हुने हो कि भन्ने सिन्धुवासीमा चिन्ता थियो ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि जेठ १५ गतेबाट औपचारिकरूपमा खुलेको हो । पर्यटन व्यवसायी रामकाजी पौडेलका अनुसार सीमामा करोडौँ लगानीमा खुलेका होटल नाका नचल्दा डुब्ने अवस्थामा पुगेका थिए । भूकम्पअघि तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी एक हजार ५०० भन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्थे ।

नाकाबाट वर्षेनी १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे । वर्षेनी २० अर्बको आयात र तीन अर्ब रुपियाँको निर्यात हुने नाकामा बल्ल चहलपहल शुरु हुन थालेको उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । “भूकम्प आएपछि नाका बन्द बनायो, यही नाका खुलाउन बारम्बार स्थानीय व्यवसायी आन्दोलित पनि भए, पछि अस्थायीरूपमा नाका चल्यो”, उनले भने । भूकम्प गएको एक वर्षसम्म गोदाममा थन्किएका व्यापारिक सामान ल्याउन २७ कन्टेनर चीनको खासा पुगेको उनले स्मरण गरेका छन् ।

विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि जेठ १५ गतेबाट औपचारिकरूपमा खुल्यो । सडककै कारणले चार वर्षपछि खुलेको नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ । चिनियाँ राष्ट्रपतिको सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यावसायीहरु हर्षित भएका हुन् ।

तातोपानी नाकालाई अझ व्यवस्थित गर्नका लागि चीनले लार्चामा अत्याधुनिक प्रविधिको सुक्खा बन्दरगाह निर्माण गरेको छ । अहिले नेपाल र चीनबीचबाट हुने सबै व्यापारिक कारोवार सुक्खा बन्दरगाहबाटै हुने गरेको छ । नाका सञ्चालनको प्रमुख समस्या भनेको सडकको रुपमा लिइएको छ । सीको भ्रमणले सडक स्तरोउन्नती हुनेमा उनीहरुमा विश्वास बढेको छ ।

सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा अरनिको राजमार्ग निर्माण भएको थियो । भूकम्पपछि विभिन्न स्थानमा क्षति पुगेको राजमार्ग मर्मत भयो । तर, पहिलेकै अवस्थामा सडक पुग्न नसक्दा समस्या सिर्जना भइरहेको छ । अरनिको राजमार्गको मर्मतमा चीन सरकार सकारात्मक भएकै कारणले तातोपानी नाका थप व्यवस्थित हुने अपेक्षा लिइएको छ । सडक सञ्चालन सुनिश्चित भएपछि व्यापारिक आत्मियता बढ्ने अपेक्षा गरिएको छ ।

मितेरीबाट काठमाडौँसम्म ११४ किमी सडक रहेको छ । बाह्रबिसे–तातोपानी २६ किमी सडकखण्ड रहेको छ । यो सडक पनि चीन सरकारकै सहयोगमा निर्माण र मर्मत हुँदै आएको छ । करीब पाँच दशकअघिदेखि नेपाल र चीनबीचमा सडक जोडिएको थियो । मितेरी पुलको निर्माणपछि नेपाल र चीनबीच व्यापार शुरु भएको हो ।

Advertisement

Advertisement

Advertisement