महरा र आलमलाई थप पाँच दिन हिरासतमै राखिने

Advertisement

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा र झण्डै दुई दर्जन आफ्ना घाइते कार्यकर्तालाई चिम्नीमा हालेर सामुहित हत्या गरेको आरोपमा पक्राउ परेका निलम्बित सांसद अफ्ताव आलमलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो भने जिल्ला अदालत रौतहटले आलमलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो । महरा स्वास्थ्य समस्या देखाउँदै नर्भिक अस्पतालमा भर्ना भएका छन् । यसअघि असोज २८ गते जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएका महरालाई ३ दिन म्याद दिइएको थियो । थप भएको म्याद शुक्रबार सकिएको हो।

प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न नसकेको जनाएको छ । महराले आफ्नै कार्यालयमा काम गर्ने महिला कर्मचारीमाथि उनी बस्दै आएको कोटेश्वरस्थित डेरामा पुगेर बलात्कारको प्रयास गरेको आरोप लाग्दै आएको छ । उक्त आरोपपछि उनले राजीनामा दिएका थिए ।

यता आलमलाई यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थपको आग्रह गरेको हो ।

Advertisement

Advertisement

Advertisement