छ महिनापछि खाली हुने गभर्नर पदका लागि दौड धुप सुरु, को को छन् लाइनमा ?

Advertisement

काठमाडौं । आगामी चैतबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जी नेपालको कार्यकाल सकिँदैछ । गभर्नर घर जानु छ महिना अघिदेखि नै गभर्नर बन्ने दौड भने सुरु भैसकेको छ । राष्ट्र बैंकको भावी गभर्नर को हुनेछ ? भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडामा निर्भर रहन्छ । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल पनि सकिँदैछ । उनलाई पुनः राष्ट्रिय सभा सदस्य बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने विकल्प सरकारसँग छ । तर त्यसका लागि प्रधानमन्त्री केपी ओली खतिवडाको काम प्रति विश्वस्त भने हुनुपर्नेछ । अर्थमन्त्रीका रुपमा खतिवडाले निरन्तरता पाउँदा र नपाउँदा फरक फरक अवस्था सृजना हुनेछ ।

को को छन् लाइनमा ?
गभर्नरको हट सिटका लागि पुर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका महाप्रसाद अधिकारीलाई प्रमुख दावेदार मानिएको छ । तत्कालिन एमालेको क्याडर मानिएका अधिकारी अर्थमन्त्री डा. खतिवडाले रुचाईएका पात्र हुन् । अधिकारीलाई प्रधानमन्त्री केपी ओलीको समेत विशेष साथ रहेको छ । ओलीले विश्वास गरेर नै उनलाई अघिल्लो कार्यकालमै लगानी बोर्डको सिइओ बनाएका थिए ।

गभर्नरको दौडमा रहेका अर्का व्यक्ति हुन सुबोध कुमार कर्ण । हाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका कर्ण नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)का पुर्व अध्यक्ष समेत हुन् । गभर्नरको दौडमा रहेकामध्ये अर्का शसक्त दावेदार हुन बासुदेव अधिकारी । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका उनी हाल नेपाल बैंकको अध्यक्ष छन् । उनले आफ्नो पहिलो रोजाईमा गभर्नर पदलाई राखेका छन् भने दोश्रो रोजाई धितोपत्र बोर्डको अध्यक्ष पद हो । अधिकारी पनि तत्कालिन एमाले निकट हुन र अर्थमन्त्री डा. खतिवडासँग नजिकको सम्बन्ध रहेको बताइन्छ ।

नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञवालीले पनि गभर्नर पद ताकेका छन् । उनले पनि आफ्ना सुत्रहरु मार्फत राजनीतिक लबिङ अघि बढाएका छन् ।

दुई डेपुटीको लिगलिगे दौड
गभर्नर बन्न राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरले दरो अभियान चलाईरहेका छन् । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी आफैं झापाली हुन् ।तत्कालिन एमालेको झण्डा बोकेर विद्यार्थी कालमा ढुंगामुढा हानेको बताउने उनी प्रधानमन्त्री केपी ओलीसँग नजिक छन् । तर अर्थमन्त्री डा. खतिवडाबाट नरुचाईएका पात्रमा शिवाकोटी पर्छन् । त्यस्तै परे राष्ट्र बैंक भित्रै कमरेड सम्बोधन गर्ने शिवाकोटीले आफु नै गभर्नर बन्ने बताउँदै आएका छन् । उनी तत्कालिन एमालेको कोटामा डेपुटी गभर्नर बनेका थिए ।

उता, नेपाली काँग्रेसको कोटामा डेपुटी गभर्नर बनेका शिवराज श्रेष्ठ पनि गभर्नरको लाइनमा छन् । काँग्रेस निकट हुँदा हुँदै पनि प्रधानमन्त्री पत्नि राधिका शाक्यको जोडबलमा उनी डेपुटी बनेका थिए । प्रधानमन्त्री पत्निको क्लासमेट भएकाले श्रेष्ठ यतिबेला शाक्य र राजेश बज्राचार्य मार्फत गभर्नर बन्ने ध्याउन्नमा लागिपरेका छन् ।

Advertisement

Advertisement

Advertisement