अष्ट्रियाले ६३५ मेगावाटको दुधकोशी र सय मेगावाटको तामाकोशी–५ मा लगानी गर्ने

Advertisement

काठमाडौं । नेपाल र अष्ट्रियाबीच उर्जा क्षेत्रमा सहकार्य गर्न भन्दै हस्ताक्षर गरिएको छ । नेपाल र अष्ट्रियाबीच बनेको उर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा यस्तो सम्झौता भएको हो ।

काठमाडौंमा सोमवार बसेको संयन्त्रको पहिलो बैठकमा उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाका यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर सहभागी थिए । सम्झौतापत्रमा नेपालको तर्फबाट उर्जा मन्त्रालयका सहसचिव प्रविण अर्याल र अष्ट्रिया सल्लाहकार सोन्जा स्टीलरले हस्ताक्षर गरे ।

संयन्त्रको पहिलो बैठकमा ६३५ मेगावटको दुधकोशी र एक सय मेगावाटको तामाकोशी– ५ जलविद्युत आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमती भएको उर्जामन्त्रालयका प्रवक्ता प्रविण अर्यालले बताए ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागी समेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ । नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा गत जेठ ८ मा हस्ताक्षर भएको थियो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदानप्रदान गर्ने सहमतीमा उल्लेख थियो । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारी समेत त्यति बेला भएको थियो ।

समझादरीअनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने समझदारीअनुसार सोमबार दुवै पक्षबीच उक्त सहमती भएको उर्जा मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement