गाभिएका म्यानपावरलाई सात दिनभित्र विवरण बुझाउन वैदेशिक रोजगार विभागको निर्देशन

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागले सबै म्यानपावर कम्पनीलाई पछिल्लो विवरण बुझाउन सात दिनको समय दिएको छ । गत भदौ १८ गते अगाडि एक आपसमा गाभिएका र तोकिएको धरौटी र बैंक ग्यारेन्टी राखी सञ्चालनमा रहेका म्यानपावर कम्पनीहरुलाई सबै जानकारीसहित सञ्चालक र कर्मचारीहरुको विवरण अध्यावधिक गर्न विभागले निर्देशन दिएको हो ।

इजाजत प्राप्त म्यानपावर संस्थाले सञ्चालक र कर्मचारीको विवरण तयार पारी सात दिनभित्र नबुझाएमा कारोबार रोक्का गरिने पनि विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै सात दिनभित्र विवरण नबुझाउने म्यानपावर कम्पनीहरुको कारोवार रोक्का राखिने चेतावनी समेत दिएको छ । विभागले आवश्यक जानकारी उपलब्ध गराउन ८ सय ५४ वटै म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ ।

विभागले म्यानपावर कम्पनी अंग्रेजी र नेपाली भाषामा संस्थाको नाम र लाइसेन्स नम्बर, संस्थाको ठेगाना, ल्याण्डलाईन नम्बर र मोबाइल नम्बर, इमेल ठेगाना, सञ्चालकको संख्या र गाभिएका म्यानपावर कम्पनीहरुको विवरण पेश गर्न भनेको छ ।

यस्तै विभागले सञ्चालकको नाम थर, स्थायी तथा अस्थायी ठेगाना, कम्पनीमा रहेको शेयरको हिस्सा, सञ्चालक भएको मिति, मोबाईल तथा ल्याण्डलाईन नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।

विभागले कर्मचारीहरुको हकमा पनि नाम थरका साथसाथै स्थायी तथा अस्थायी ठेगाना, पद, नियुक्ति मिति सहित मोबाईल तथा ल्याण्डलाईन नम्बर सहितको विवरण पेश गर्नुपर्नेछ ।

विभागले उल्लेख गरे अनुसारको विवरण तयार पारेपछि विभागको इमेलमा विद्युतीय प्रति पेश गर्नुपर्ने जनाइएको छ । नियमन गर्न सजिलो हुने भन्दै विभागले धरौटी बढाएर म्यानपावरको संख्या घटाउँदै अनुगमन प्रभावकारी बनाएको छ । म्यानपावरको अनुगमनका लागि विभागले छुट्टै निर्देशिका नै बनाएको छ ।

Advertisement

Advertisement

Advertisement