काठमाडौं । ‘त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरबाट एमबिए, मेट लाइफको उच्च व्यवस्थापनमा १५ वर्ष काम गरेको अनुभव अनि अमेरिकाको लोमा इन्स्टिच्युटबाट फेलोशिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्टसम्मको अध्ययन ।’ यो पहिचान हो पोषकराज पौडेलको जो यतिबेला सिटिजन्स लाइफको प्रमुख कार्यकारी अधिकृतका रुपमा विगत दुई वर्षदेखि कार्यकारी नेतृत्व गरिरहेका छन् ।
पौडेलकै भनाईलाई मान्ने हो भने नाफाका आधारमा गत आर्थिक वर्षको विवरण अनुसार सिटिजन्स लाइफले समग्र जीवन बीमा कम्पनीहरुमा ७औं स्थान र नयाँ कम्पनीहरुमध्येमा दोस्रो स्थान ओगट्न सफल भयो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात असोज मसान्तसम्ममा कम्पनीले एक अर्ब ५० करोड रुपियाँ प्रिमियम संकलन गरिसकेको छ । सीईओ पौडेल भन्छन्, ‘हामीले गत आर्थिक वर्षको पहिलो त्रैमासिकभन्दा यसपटकको पहिलो त्रैमासिकमा शतप्रतिशत प्रगति गरेका छौं, ९० प्रतिशत नयाँ अभिकर्ता मार्फत काम गरिरहेका छौं, नयाँहरुको जाँगरलाई भरपुर उपयोग गर्दैछौं ।’
कम्पनीले पूर्णतः नयाँ जनशक्तिमार्फत व्यवसाय विस्तारको रणनीतिलाई अख्तियार गरिरहेको छ । काठमाडौं र नेपालगञ्जमा ५०।५० जना नयाँ कर्मचारीलाई तालिम दिने काम भर्खरै सम्पन्न भएको छ । अभिकर्ताहरुको संख्या १० हजार नाघिसकेको छ । ७० जिल्लामा ९० वटा शाखा सञ्जाल विस्तार भएका छन भने आधा दर्जन शाखा यसै आर्थिक वर्षभित्र स्थापना गरिनेछन् । ‘एउटा बीमा कम्पनीको स्ट्रेन्थलाई हेर्ने आधार भनेको प्रिमियम र नाफा, शाखा सञ्जाल लगायतका इन्डेक्स नै हो । त्यसमा जोखिमको अवस्थालाई पनि जोडेर हेरिन्छ । हामी पूर्णतः अब्बल कम्पनी बन्ने अभियानमा छौं’, पौडेलले सुनाए । सिटिजन्सले यसै आर्थिक वर्षभित्रै आइपीओ जारी गर्ने योजना पनि अघि सारेको छ ।
१३ प्रडक्टका एक लाख बीमित
सिटिजन्सले हालसम्म विभिन्न प्रकारका १३ वटा पोलिसी ल्याईसकेको छ । ती पोलिसीहरुबाट एक लाख जना नागरिक बीमित भएका छन् ।
सबैको साथी जीवन सारथी
कम्पनीको सबै भन्दा रुचाईएको योजनाको नाम हो जीवन सारथी । यसमा पोलिसीको अवधीमा पुरा भएपछि शतप्रतिशत थप रकम पाइने सुबिधा छ । सामान्यतया, एक करोडको बीम गर्नेले अवधी पुरा भएपपछि अर्को एक करोड पाउँछ । त्यसमा बोनस पनि थपिन्छ ।
तर सिटिजन्सले ६० वर्ष पुरा भएपछि ७० वर्ष पुग्दा २० लाख, ७५ वर्षमा २० लाख, ८० वर्षमा २० लाख र ८५ वर्षमा फेरी २० लाख रुपियाँ अतिरिक्त दिनेगरी जीवन सारथी योजना ल्याएको हो, जुन सर्वाधिक रुचाईएको पनि छ ।
पौडेल भन्छन्, ‘बीमाको अवधी सम्पन्न भएपछि हरेक पाँच वर्ष जीवन चलाउनका लागि वर्षेनी २० लाख दिन्छौं । यो प्रडक्टमा अरु कम्पनीले दिनेभन्दा शतप्रतिशत बढी प्रतिफल दिन्छौं ।’, कम्पनीले यसलाई डबल प्लस योजना भनेर ब्राण्डिङ गरिरहेको छ ।
बीस वटा रोगको क्रिटिकल केयर
‘बीस रोगहरु समेटेर नेपालमै पहिलो पटक क्रिटिकल केयर ल्याउने कम्पनी पनि सिटिजन्स नै हो, हामीले यसलाई नेपालमै पहिलो पटक भनेर ब्राण्डिङ गरिरहेका छौं’, पौडेलले भने । रोग लागेको प्रमाण पेश गर्ने बित्तिकै उपचारका लागि पहिलो पटक नै २० लाख भुक्तानी दिने पनि उनले बताए । यसमा ५० लाख रुपियाँसम्मको उपचार सुविधा रहेको छ । ‘हामीले बीमा क्षेत्रमै सबैभन्दा धेरै रोगहरु समेटेर क्रिटिकल केयरको सुविधा ल्याएका छौं । रोग पहिचान हुने बित्तिकै एक मुष्ठ भुक्तानी दिन्छौं’, उनले सुनाए ।
दुःखको साथी बीमा
औषत नेपालीहरुलाई बर्षको पाँच।सात हजार रुपियाँको उपचार गर्न कठिन पर्दैन् । तर जब एक लाख वा त्यो भन्दा धेरै खर्च गर्नुपर्ने अवस्था आउँछ, त्यतिबेला गाह्रो हुन्छ । शरिरमा ७० प्रतिशत अंगले काम गर्न छाडेपछि मात्रै रोग पत्ता लाग्छ । त्यसकारण रोग लागेको थाहा पाउँदा धेरै ढिलो भइसकेको हुन्छ । सीईओ पौडेल भन्छन्, ‘एकै पटक २०।३० लाख खर्च लाग्ने गरि रोग लागेपछि मानिसका दुःखका दिन आउँछन । त्यतिबेला हो मान्छेले बीमालाई सम्झने, त्यसकारण क्रिटिकल केयरको मान्यता भनेको आज थोरै पैसा जम्मा गरेर त्यस्तो जोखिमका समयमा उपचार गर्ने भन्ने हो ।’
कम्पनीमै आउनेलाई के ?
जीवन बीमा व्यवसायलाई साधारणतया अभिकर्ता परिचालनमार्फत गरिन्छ । तर नागरिकले कम्पनीमै आएर सिधै बीमा गराए भने के पाउँछन ? पौडेल भन्छन– ‘अभिकर्ता कमिसन बराबर त दिदैँनौं तर केही छुट भने अवश्य दिन्छौं ।’
प्रतिष्पर्धा ?
‘हामी आउनुभन्दा अघि नै पनि बीमा बजारमा प्रतिष्पर्धा छ भनिन्थ्यो । हामी आउँदा पनि त्यो प्रतिष्पर्धा कायमै छ र आगामी १० वर्षपछि पनि प्रतिष्पर्धा जारी नै रहनेछ । हामीले प्रतिष्पर्धालाई अवसरका रुपमा ग्रहण गर्नुपर्छ’, पौडेलले भने । उनले प्रतिष्पर्धालाई स्वस्थ बनाउन नियामकदेखि कम्पनी र अभिकर्ताहरुको सामुहिक दायित्व हुने पनि बताए । हिजो इन्स्योरेन्स भनेको मध्यम वर्ग र उपल्लो वर्गका लागि हो भन्ने मान्यता थियो । नयाँ कम्पनीहरु आएपछि त्यो अब गरिबहरुको पहुँचमा पनि पुगिसकेको छ ।
नयाँ कम्पनी आएपछि गरिबहरुसम्म बीमा पुगेको छ । व्यवसाय विस्तार भएपछि केही नकारात्मक पक्ष पनि आउन सक्छन् । बीमामा देखिएका यस्ता विकृतिहरुलाई रोक्ने सुइटेबिलिटि टेष्ट गर्नुपर्ने उनले जोड दिए ।