काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवलपरासीको बर्दघाटमा रहेको १३२/११ केभी सवस्टेशनमा गए राति भएको आगलागीका कारण २९ हजार सेवाग्राही मर्कामा परेका छन् ।
प्राधिकरणले दिइरहेको नियमित विद्युत् आपूर्तिमा समस्या आएको र वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिरहेको जनाएको छ । आगलागीका कारण सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको हो । आगलागी के कति कारणले भयो भन्नेबारेमा छानबिन भइरहेको प्राधिकरणले जनाएको छ ।
नियन्त्रण कक्षमा पस्ने दुईवटा ‘इन्कमर’ र त्यहाँबाट बाहिर निस्कने दुईवटा ‘आउट गोइङ’ फिडरमा आगलागी भएको छ । आगलागीबाट ‘इन्कमर’ र ‘आउट गोइङ’ फिडरहरू पूर्णरुपमा क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गए राति भएको आगलागीबाट नियन्त्रण कक्षमा रहेको कन्ट्रोल प्यानललगायत अन्य उपकरण पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आगलागी के कारणले भएको हो ? त्यसको छानबिन गरिरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले शुक्रबार नै आगलागी भएको स्थानको स्थलगत निरीक्षण गर्न ग्रिड विकास विभागका निर्देशकको टोलीलाई काठमाडौँबाट त्यहाँ पठाएको छ । सवस्टेशनमा आगलागी भएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको थियो ।
त्यहाँबाट बर्दघाट क्षेत्रका २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति भइरहेको थियो । प्राधिकरणले परासी, गण्डक र शीतलनगर सवस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । गत वर्ष पनि बर्दघाट सवस्टेशनको सोही नियन्त्रण कक्षमा आगलागी भएको थियो ।