दुई महिना दिनुस्, काठमाडौंका सडक व्यवस्थित गर्छुः महासेठ, सरकार परिवर्नतको कुरा हल्ला मात्रै

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार अहिले सही दिशामा रहेकोले अब परीणाम देखिने दावी गरेका छन् । शनिबार रिपोर्टर्स क्लवमा उनले अब जनताले देखिनेगरि विकास र समृद्धिको अनुभुति गर्न पाउने पनि जिकिर गरे ।

महासेठले भने, ‘०७४÷०७५ आधार वर्षको रुपमा लियौं, २०७५–०७६ योजना वर्षको रुपमा लिएर अघि बढेका हौं । यो सरकार सबै मोर्चामा प्रत्येक दिन एक कदम अगाडि बढिरहेको छ । यो सरकार गठन भएदेखि हामी एक कदम अगाडि बढिरहेका छौं ।’

उनले विस्तारै–विस्तारै सरकारले गति लिएको बताउँदै भने, ‘यो सरकार प्लानिङ गरेअनुसार पूर्वाधार र विकासको क्षेत्रमा अगाडि बढिरहेको छ । आर्थिक वृद्धिद्धर बलियो भइरहेको छ । अहिले शान्ति, सुरक्षाको स्थिति देशभरि व्यवस्थित् भएको छ ।’

महासेठले सरकार नेपाल भ्रमण वर्ष–२०२० को तयारीमा जुटिसकेको पनि बताए । सरकारले कृषिमा नयाँ–नयाँ प्रविधि भित्राईरहेको पनि उनले दाबी गरे । महासेठले भने, ‘सरकारले कृषि क्षेत्रमा पनि फड्को मारेको छ । भूमि सुधारको क्षेत्रधमा पनि धेरै नयाँ–नयाँ कानून बनाएका छौं । कतिपय कानून संशोधनको अन्तिम स्थितिमा आएका छौं । नयाँ कानूनहरु संसदमा छदलफलको क्रममा रहेका छन् ।’

विकास र समृद्धिको यात्रामा पनि वर्तमान सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको कुरा दोहोर्याँदै मन्त्री महासेठले भने, ‘मिडियामा मैले हेरेको थिएँ की सडकको क्षेत्रमा खासै प्रगति भएन भनिएको छ, तर म भन्छु धेरै प्रगति भएको छ । पूर्वाधार विकासमा सरकार लक्ष्यभन्दा अघि नै छ । एक वर्षमा एक हजार किलोमिटर सडक बनायौं । हामी बास्तवमा पूर्वाधार विकास खासगरी सडकको काममा तुलनात्मक रुपमा दिनप्रतिदिन अगाडि बढिरहेका छौं । स्वभाविक रुपमा हामीले धेरै आलोचना सुन्नु परेको छ । यो सडक यसरी दुई दिनमै बिग्रियो भनेर कुरा आउँछ । हामीले तुरुन्तै एक्शन लिन्छौं । हामीले देशभरि ८ मिटरभन्दा बढिका सडक हेरिरहेका छौं । त्यो भन्दा मुनिको सडक प्रदेश सरकार, महानगरपालिकाहरुले बनाईरहेका छन् ।’

उनले काठमाडौं उपत्यकाको सडक भनेर कहिलेकाहीँ सामाजिक सञ्जालमा भारतको बिहार र बंगलादेशका भत्किएका सडकहरुको फोटोहरु पनि सार्वजनिक गर्ने गरिएकोमा गुनासो पोखे । यद्यपी आफूहरुले त्यसलाई पनि नकारात्मक रुपमा नलिएको बताए । महासेठले भने, ‘यो देखेर हामी सतर्क हुन्छौं, प्रत्येक राष्ट्र्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न भएका छन् । हुलाकी राजमार्ग, मदन भण्डारी मार्ग, मध्यपहाडी राजमार्ग, महेन्द्र राजमार्गलगायतका राष्ट्रिय राजमार्गहरु समयभन्दा पहिले नै सम्पन्न गर्न गइरहेका छौं । कामले गति लिएको छ । काठमाडौं उपत्यकाभित्र सडकमा धेरै समस्या छ । तर, राष्ट्रिय राजमार्गको बारेमा हामीले समयभन्दा पहिले काम सम्पन्न गर्न गैरहेका छौं । हुलाकी राजमार्ग सम्पन्न गर्न गैरहेका छौं । महेन्द्र राजमार्गको कुरा गर्दा बुटवलदेखि–काकँडाभिट्टासम्म ८ लेनको बन्दैछ । बुटवलदेखि नारायणघाटसम्म काम सुरु भैसकेको छ । मैले विभागलाई निर्देशन दिएको छु । हो, युद्धस्तरमा काम भएको छैन् । तर, काम सुरु भएको छ । कमलादेखि कन्चनपुरसम्म, पथलैयादेखि कमलासम्म, कन्चनपुरदेखि काँकडाभिटटा काम भैरहेको छ । ६ लेन त हामी समयभन्दा पहिले सम्पन्न गर्न गैसकेका छौं ।’

रेलमा पनि आफूहरुले लक्ष्यअनुसार काम गरिरहेको महासेठको दाबी छ । उनले भने, ‘पूर्व–पश्चिम रेलमार्ग निर्माणको पनि काम सन्तोषजनक छ । सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा नै हामीले काठमाडौं–केरुङ रेलमार्गमा एम.ओ.यु गरेका थियौं । त्यसमा नेपाल सरकारले के–के उपलब्ध गर्ने र चिनियाँ सरकारले के–के गर्ने भन्नेबारे प्रष्ट रुपमा लेखिएको छ । अहिले हामी चरणबद्ध रुपमा प्राविधिक काम गर्दैछौं । अब फिजिविलटी गर्छौं । यो पनि सम्पन्न हुन्छ । त्यस्तै, काठमाडौं–विरगन्ज रेलमार्गको लागि पनि त्यहीअनुसार काम भैरहेको छ । प्रि–फिजिविलटी काम हुन्छ । रेलवे निर्माण काममा पनि हामी लक्ष्यभन्दा पछाडि छैनौं ।’

मन्त्री महासेठले ७७ वटै जिल्लामा सरकारको कामको नतिजा देखिएको सुनाए । उनले थपे, ‘पहिले केही काममा बाधा र अड्चन थिए । तर, अहिले त्यो चिजलाई हटाएका छौं । कानूनहरु संशोधन गरेका छौं । काम गर्नेलाई पुरस्कार दिने गरेका छौं । खराब गर्नेलाई कारबाही गरिरहेका छौं । अस्ति भर्खरै १५÷२० वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखेर कारवाही गरेका छौं । निर्माण व्यवसायी साथीहरु अहिले गम्भिर हुनुहुन्छ । धेरै यस्ता पनि साथीहरु पनि छन्, जसले समयभन्दा अगावै काम गरेर दिएका छन् । अहिले कामको प्रगति हेरेर मात्रै पैसा दिन्छौं । पहिले पहिले एडभान्स दुरुपयोग हुन्थ्यो । अहिले हामीले त्यो काम बन्द गरेका छौं । अहिले जुन प्रकारको काम भैरहेको छ। समस्या छैन् । काम नगर्नेलाई कालो सूचिमा राखेका छौं ।’
उनले सुरुङमार्गको शिल्यान्यासको बेलामा आफूले प्रधानमन्त्री केपी ओलीको अगाडि उभिएर काठमाडौं उपत्यकाको सडक अवस्था व्यवस्थित् गर्छु भनेर बोलेको पनि सुनाए । महासेठले भने, ‘यो आर्थिक मसान्तभित्र काठमाडौं उपत्यकालाई व्यवस्थित् गर्छु । अब काम नगर्नेहरुको दिन गयो । मैले यो कुरा प्रधानमन्त्रीको अगाडि भनेंको छु । अब माघ पनि कुर्नुपर्दैन् । काठमाडौंलाई चाहिने व्यवस्थित् गर्छौं । म त भन्छु हामी काठमाडौं उपत्यकालाई मंसिर, पुसभित्रै सम्पन्न गर्न गैरहेका छौं । तिहार सकिएपछि तपाईहरुले परिवर्तन महशुस गर्नुहुन्छ ।’

उनले काम नगर्ने निर्माण व्यवसायीहरुलाई मात्रै नभएर राष्ट्रसेवक कर्मचारीहरुलाई पनि त्यहीअनुसार काम गर्न चेतावनी दिएको सुनाए । पछिल्लो समय धेरै छिटो काम गर्दा हुँदो रहेछ भन्ने कुरा आफूहरुले महशुस गरेको पनि उनले बताए । महासेठले भने, ‘अब हिजोजस्तो समस्या हुँदैन् । मैले गर्नुपर्ने म गर्छु, तपाईले गर्नुपर्ने तपाईले गर्नुुहोस भनेको छु । अब नयाँपन देखिन्छ । हो, हामीले सडकहरु नयाँ बनाएका छैनौं । तर, हिजोभन्दा आज अलिकति सफा हुन्छ । अहिले बनाएका सडकहरु अल्पकालिन हुन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुभयो । यो त देशको ईज्जतको कुरा हो, नेकपाको मात्रै होईन । तीन करोडको ईज्जत थियो । त्यहीभएर कामचलाउ सडकहरु बनायौं । अहिले खानेपानीले लाजिम्पाटमा सडक खन्दैछ । हामीले पनि सडकको लिकेज टाल्नको लागि १५ दिनको समय दिएका छौं । कतिपय ठाउँमा हामीले खानेपानकिो काम आँफैंले गरेका छौं । गौशालादेखि चावहिलसम्मको सडकको काम छ ।’

मन्त्री महासेठले अब प्लानिङअनुसुार काम गर्ने सुनाए । उनले थपे, ‘आउने मंसिर १ गतेदेखि सम्भवतः त्यो भन्दा पहिलेदेखि सबै ठाउँमा म हात हाल्दैछु । म आएको १९ महिना भयो । अब म २ महिना समय मागेको छु । अहिले पनि हामीलाई समस्या छ । तर, काठमाडौं उपत्यकाभित्रका सबै सडकहरु व्यवस्थित् गर्छु ।’

दिनहुँ पत्रपत्रिकामा विगतमा जस्तै सरकार आउने जाने भनेर समाचार आएकोबारे उनले त्यसमा कुनै सत्यता नभएको टिप्पणी गरे । महासेठले भने, ‘त्यो त्रास अहिले देखिएको छ । मन्त्रिमण्डल परिवर्तन हुने भनेर कुराहरु दिनहुँ मिडियामा आईरहेका छन्, पछिल्लो १३÷१४ महिनादेखि पत्रिकाले लेख्न छोडेको छैन् । हुन त यो अधिकार प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्छ । उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ । तर, अहिले सम्भावना देखेको छैन् । सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भइरहेको छ । मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुने साथीहरुले हल्ला गरेको हो । नेपालभित्र सबै यो सरकारको समर्थनमा पनि छैनन् नि । उनीहरुको उद्देश्य सरकार छिटो ढलोस भन्ने होला । तर, त्यो सम्भावना छैन् । आजको भोलि नै मन्त्रिमण्डल परिवर्तन हुने सम्भावना मैले चाहीँ देखेको छैन् ।’

मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने स्पष्ट पारे । त्यस्तै, उनले आफ्नो मन्त्रालयमा व्यापक सरुवा भयो र आर्थिक चलेखले भयो भन्ने आरोप लागेको बारेमा पनि खण्डन गरे । महासेठले भने, ‘जब सरुवा नै भएको छैन्, यस्तो कुरा कसरी आएको होला ? एउटा पनि सरुवा भएको छैन् । तर, यसबारेमा दिनहुँ पत्रिकामा कुरा आउँछ । हाम्रै पार्टीका साथीभाईबाट सञ्चालित मिडिया हाउसबाट यस्तो लेखिने गरेको छ। मिडिया भनेको राज्यको चौथो अंग हो । तर, समाचार लेख्दा पनि कम्तिमा पनि ५० प्रतिशत सही कुरा लेख्नुहोस् । शतप्रतिशत गलत कुरा लेख्नुभएन । यो त मिडियाकै लागि प्रतिकुल हुन्छ । हामीले केही गरेकै छैन् ।’

यद्यपी उनले पत्रपत्रिकामा आएका समाचार देखेर आफूलाई त खुशी लाग्ने प्रतिक्रिया दिए । महासेठले भने, ‘म त पत्रिका पढेर कतिपय कुरामा एक्शन लिन्छु । दश वटा लेख्दा एक÷दुई वटा सही हुन्छ । म सही कुरामा एक्शन लिन्छु । मिडियाको कमी छैन् । ७७ वटै जिल्लामा मिडिया सक्रिय छन् । सरकारले गति लिन्छ । तपाईहरुले अनुभुति गर्नुहुन्छ ।’

त्यस्तै, उनले काठमाडौंको कालिमाटीको पुलका कारण ठूलो जाम हुने गरेको सुनाए । महासेठले थपे, ‘कोटेश्वरमा बढि जाम छ । चावहिलमा छ । गौशालामा छ । हामी काठमाडौंलाई व्यवस्थित् गर्न गैरहेका छौं । ७ वटा ठाउँलाई पहिलो प्रिफेरेन्समा राखेका छौं । सैद्धान्तिक सहमतिकोलागि सम्बन्धित निकायमा पठाएका छौं । कोटेश्वर, गौशला, चावहिल, नयाँ बानेश्वर, थापाथली, त्रिुपरेश्वर र कालिमाटीको कुरा छ । आधुनिक ओभरहेड ब्रिड, अन्डर पास र टनेल बनाउनेबारे डिजाईन गरिसकेका छौं ।’

सुरुङमार्गमा त ४२ महिनाको समय दिए पनि, ३६ महिनामा सम्पन्न गर्न भनेर आफूहरुले भनिसकेको सुनाउँदै उनले भने, ‘सम्झौतअनुसार निर्माण व्यवसायीले काम गर्नुपर्छ । पुल भाँचिएर वा भासिएर दुर्घटना भयो भने हामी नै जिम्मेवार हुनुपर्छ । कालीमाटीको हकमा निर्माण व्यवसायीले रातोरात विभागलाई थाहा नदिई काम गरेको रैछ । मैले तोड्न निर्देशन दिएको हुँ । जबरजस्ती बनाएकोले समस्या भएको हो । हामी कानूनी राज्यमा छौं । अदालतबाट टेस्टको आदेश भएको छ । निर्माण कम्पनीले पनि टेस्टको माग गरेको छ । त्यही भएर समय लागेको छ । म भन्छु यो पुल कमजोर छ । अलिकति ढिलाई भएकै हो । अब एकदेखि डेढ महिनाभित्र नयाँ बन्छ । तिनकुनेनिरको बाग्मती पुलमा पनि समस्या छ । हामीले दिएको रि–डिजाईनअनुसार काम गर्न भनेका छौं । तिनकुनेको पनि हामीले नयाँ डिजाईन बनाईसकेका छौं ।’

कलंकी–नागढुगा र जोरपाटी–साँखु सडकपनि आगामी मंसिर १५ भित्र व्यवस्थित् गर्नको लागि आफूबाट निर्देशन भैसकेको उनले सुनाए । महासेठले भने, ‘हामीले तुरुन्त पिच गर्न निर्देशन दिएका छौं । गम्भिर छौं । आशा राखौं मंसिरभित्रै काम सम्पन्न भैसक्छ ।’ जोरपाटी–साँखु सडक देशकै सडक भएकोले यसबारेमा सरकार गम्भिर रहेको पनि उनको प्रतिक्रिया छ । उनले भने,‘हामी मेयरलाई पनि सरकारकै मेयर मान्छौं । सांसद र मेयर (उहाँहरु) को लडाईमा हामी पर्न चाहँदैनौं । १४ मिटर दिन तयार तयार छन् । हाम्रो २२ मिटरको डिजाईन हो । २२ मिटर बनाउँदा चार लेन बन्छ । यसो हुँदा ५०÷६० वर्षको लागि पुग्छ । सडक विस्तारको क्रममा हुने क्षतिपूर्ति दिनैपर्छ । हामी दिन्छौं । अदालतको निर्णय हो । हामी कमभन्दा कम क्षति चाहन्छौं ।’

उनले यही आर्थिक वर्षभित्र डोल्पा र हुम्लापनि सडक सञ्जालले जोड्ने सुनाए । महासेठले भने, ‘हामी यो काम यही वर्ष गर्छौं । अहिले विकास चाहिन्छ भने सडक बनाईदिनुहोस भन्ने उक्ति लागु भएको छ । हामी फर्निचरसहितको सडक बनाउँदैछौं । काठमाडौंमात्रै होईन, देशैभरि सडक निर्माणमा अघि बढ्छौं । देशमा ७ वटा सुरुङमार्गको लागि डिपिआरको लागि बजेट छुट्याईसकिएको छ । हामी पूर्वाधारको प्रत्येक सेक्टरमा हात हाल्छौं । काठमामाडौं देशको मुहार हो । त्यसैले काठमाडौं उपत्यका राम्रो हुनुपर्छ । यी सबै कुरा सोचेका छौं । विकास र समृद्धि नेपाल सरकारले मात्रै गर्ने होईन, सबैको साथ चाहिन्छ । तपाईहरुबाट धेरै सहयोग पाएको छु । हामीलाई सही दिशातर्फ अघि बढ्नको लागि यहाँहरुको साथ र सहयोग चाहिन्छ । मिडियाबाट हुने आलोचनालाई सकारात्मक रुपमा लिएका छौं ।’

Advertisement

Advertisement

Advertisement