पाँच सय ३६ मेगावाटको ‘सुनकोशी–तेस्रो’को निर्माण प्रक्रिया शुरु

Advertisement

काभ्रेपलान्चोक । ‘गौरवको आयोजना’को रुपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि क्षेत्र निर्धारणका लागि प्रक्रिया शुरु गरिएको हो ।

प्रदेश नं ३ अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सीमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना तथा रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ ।

यसका लागि आयोजनाबाट प्रभावित हुन सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझाव मागिएको छ । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

कात्तिक १७ गतेसम्म सरोकारवालासँग राय–सुझाव माग गरिएको मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागका इञ्जिनीयर सुवास थपलियाले बताए । उनका अनुसार सुनकोशी–३ का लागि लुभुघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ । विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशीमा खसालिनेछ ।

आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करीब एक हजार ६०० परिवार प्रभावित हुने जनाइएको छ । प्रभावित परिवारलाई स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको छ, सम्भवतः पाँचखालमा व्यवस्थित गर्न लागिएको जमीनमा एकीकृत शहरी बस्ती निर्माण हुनसक्ने आयोजनाले जनाएको छ ।

उक्त स्थानमा जलाशययुक्त विद्युत् आयोजना बन्दा माछापालन, डुङ्गा सञ्चालन, होटल तथा अन्य विकासको सम्भावना रहन्छ भने पारिपट्टि सिन्धुपाल्चोक हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको अवस्थामा काठमाडौँ तथा अन्य ठाउँबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिनेछ ।

आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडामा बाँध, विद्युतगृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्नेछ ।

गौरवको परियोजना कार्यान्वयन हुँदा खुशी मान्नुपर्ने प्रस्तावित परियोजनाको डुबान क्षेत्रमा पर्ने मण्डनदेउपुर–१० का रामबहादुर लामा बताउँछन् । उनी भन्छन्, “सरकारले डुबान क्षेत्रका बासिन्दालाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्छ, अन्यत्र घर भई डुबान क्षेत्रमा जमीन भएकालाई मुआब्जा दिनुपर्छ ।” उनले डुबानमा पर्ने बस्तीका बासिन्दाले उचित बासस्थान दिए उनीहरु निकै खुशी हुने बताए ।

वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ को नियम ४ ९१० अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्तरूपमा सार्वजनिक रुपमा अपिल गरेका हुन् । गत वर्ष चैतमा काठमाडौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । प्रस्तावित आयोजना निर्माणस्थल काठमाडौँबाट ६० किलोमिटरको दूरीमा पर्छ । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या छैन । सन् १९८५ मै ‘जापान इन्टरनेशनल कोअपरेशन (जाइका)’ले यसको सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोशी तेस्रो पनि एउटा हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलब चार मेगावाट) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ । रासस

Advertisement

Advertisement

Advertisement