'पूर्वजले गरेको कामलाई आफूले गरें भनेर नेताहरुले इतिहासमाथि बलात्कार गर्ने गरेका छन्'

Advertisement

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले नेपालका नेता, पुलिस, कर्मचारी, न्यायाधीश र राज्यका अंगहरूले काम गर्न नसक्नुमा उनीहरुमा बदलिँदो युगको प्रविधिको ज्ञान र सीपको अभाव एउटा प्रमुख कारण भएको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै उपाध्यायले उनीहरुमा काम गर्ने क्षमता नै नभएको भन्ने कुरामा आफूमा बढी विश्वास बढ्दै गएको बताएका छन् । त्यसमाथि नेता, पुलिस, कर्मचारी, न्यायाधीश र राज्यका अंगहरूलाई सही काम र गलत कामगर्ने बीचमा समान नजरले हेर्ने जनताका कारणले गलत काम गर्ने उत्साहित हुँदै जाने र इमानदार निरूत्साहित हुँदै गएको बताएका छन् ।

उपाध्यायले क्षमतावान कर्मचारीको साथ नलिने र सबैलाई हपार्दै झपार्दै क्षमताबिहीन नेताहरू कामभन्दा बढी बकबक गर्नाले जनतामा सकारात्मक सन्देश जान नसकेको भन्दै यसले पनि समस्या बल्झिदै गएको बताएका छन् ।

नेताहरू काम फत्ते गरेर मात्र बोल्न थाल्नुपर्ने उनको तर्क छ । त्यसो गर्दा मात्रै कर्मचारी र जनताले पत्याउने उपाध्याय बताउँछन् । त्यसो गर्दा यो भएन वा उ भएन वा यसैले गर्न सकिएन भनेर नेताले भन्न पाउदैनन् भन्दै उनले काम गर्न नसक्नेले सर्लक्क पद छाड्नुपर्ने बताउँछन् ।

कुनै पनि काम सानो नहुने बताउँदै पूर्वसचिव उपाध्यायले आफ्नो जिम्माको काम राम्ररी पूरा गर्नु कुनै ठूलो काम होइन् भन्छन् । आफ्नो कर्तव्य नगर्नु बरू ठूलो नाकाम भएको उनको तर्क छ । कर्तव्य पूरा गरेकोमा के के न गरें भन्नु पनि नसुहाउने उपाध्याय बताउँछन् ।

आफूलाई अहिले खुब लेख्छस् ? तर आफै पदमा हुदॉ के गरिस् त ? भनेर ओठे प्रश्न गर्ने गरिन्छ भन्दै उनले त्यो बेला के जवाफ दिउँ ? भनेर आफू असमन्जसमा भने पर्ने गरेको बताउँछन् । उपाध्यायले नेताहरूले जस्तो कामै नगरे पनि आफैले गरेँ भनेर फलाक्न कर्मचारीले नमिल्दो र नसुहाउदो बताउँछन् ।

उपाध्याय भन्छन्, 'अरू केही चाहिन्न, फलानो कर्मचारी एउटा असल कर्मचारी थियो भनेर सेवाग्राहीले वा हाकिमले वा मातहतका सहयोगीले भनिदिए मात्र पनि उसको चित्त खुशी हुँदोरहेछ । कर्मचारीलाई जनताले हैन, सेवाग्राहीले परख गर्छन् ।'

नेता सर्वेसर्वा देखिने मुलुकमा कर्मचारीले सबै काम गरेता पनि नाम भने नेताकै हुन्छ भन्दै उनले जस पनि नेताले लिन बताउँछन् । उपाध्याय भन्छन्, 'काम गर्ने त कर्मचारी हो, त्यसैले उसको नाम कर्मचारी भएको हो । कर्मचारीले मैले गरें भन्न सुहाउँदैन रहेछ । केही नगरे पनि नेताले मैले गरेको भन्छ ।'

भूपि शेरचन भनेजस्तै 'दगुर्छ गोडाले माला घॉटीले र टीका निधारले थाप्छ' भनेजस्तै स्थिति नेपालमा रहेको बताउँदै उनले असल नेताले जस काम गर्ने कारिन्दालाई जस दिएर अपजस भने आफूले थापेर महान बन्न भन्छन् । नेपालका नेताहरू जस आफूले भिर्छन् र अपजस कर्मचारीलाई बोकाउने गरेको उपाध्यायको स्मरण छ ।

नेताहरुले पूर्वजले गरेको कामलाई हडप्ने र ती सबै आफैले आफ्नै कार्यकालमा गरेको भनेर फुक्ने र जनतालाई उल्लु बनाउने गरेको स्मरण गर्दै उपाध्यायले नेताहरुले इतिहासमाथि बलात्कार गर्ने र आगामी पुस्तालाई पीडित बनाउने काम गरेको बताउँछन् ।

Advertisement

Advertisement

Advertisement