ओली-प्रचण्डलाई कार्यकर्ताको मार्मिक पत्रः बसरुद्धिनलाई ठग्ने लाइसेन्स तपाईहरुले दिएको हो ?

Advertisement

अध्यक्षद्वय कमरेड , बसुरुद्धिन अंसारी जस्तो
गलत प्रवृत्तिको मान्छेलाई कारबाही होस् । 

नेपाल कम्युनिस्ट पार्टी बिधि बिधान अनुशासन संगत चल्ने पार्टी हो र पार्टीमा रहेका हरेक नेता कार्यकर्ता सोही अनुरुप चल्नुपर्दछ । नेकपाको बिधान र कम्युनिस्ट आचरण पालनाका लागि कोहि साना र कोहि ठुला भनेर छुट हुंदैन । कम्युनिस्ट पार्टी आंफै साना ठुला जस्ता असमानता र विभेद विरुद्धको पार्टी हो । तसर्थ पार्टी निति र अनुशासनको केही खास मान्छे वा नेताहरूको लागि फरक मापदण्ड हुदैन ।

पार्टीले गम्भिरता पुर्वक कतिपय ठाउँमा होस नपुर्‍याउँदा यो पार्टीमा गलत तत्वहरुको प्रवेश भएको छ । ती केही गलत प्रवृत्तिका मान्छेहरुको कारणले पार्टी बदनाम बन्दैछ र देश अप्ठेरोमा पुगेको छ । यसैको उदाहरण स्वरुप पर्सा जिल्लामा केहि दलाल अवसरवादी हरुको कारण बसरुदिन अंसारी जस्तो गैर कम्युनिस्ट चरित्रको मान्छेको नेकपामा प्रवेश भयो । उनको प्रवेश देखि लिएर विरगन्ज महानगरमा उनको उम्मेदवारी देखि लिएर सबै श्रृङखलामा पर्साको कम्युनिस्ट आन्दोलन लजाउनु पर्ने परिस्थिती बन्यो । जे ढंगले उनलाई पार्टी प्रवेश गराइयो, जसरी उम्मेद्वार बनाइयो र त्यसविचमा जे जस्ता प्रकृतिका कामहरु भए त्यसमा एक सिन्को पनि कम्युनिस्ट पद्धतिले काम गरेको थिएन । बरु नेपालमा बलियो कम्युनिस्ट आन्दोलनको जगमा आफ्ना असामाजिक गैर कम्युनिस्ट स्वार्थका रोटी सेक्ने बसरुद्दिन दाउ भने प्रत्येक पटक सफल भै नै रह्यो । र आज यो सिंगो पार्टी नै बदनाम हुने तहमा पुगेको छ । उनको विगत कै कुरा गर्ने हो भने पनि जुन बेला जो बलियो जस्तो देखिन्थ्यो उनी त्यही झण्डा मुनि बसेर आफ्ना स्वार्थ पुर्ती गरुरहेका हुन्थे । कहिले कंग्रेस , कहिले फोरम , कहिले माओवादी । उनी सवै पार्टीम लागे । तर जनताका माझमा उनी जता लागेर जे गर्दा पनि विवादित मात्र बने । उनको निकट इतिहास हेर्ने बुझ्ने जोकोहिले पनि यो कुरा सजिलै थाहा पाउन सक्छ।

आज राष्ट्रिय लज्जा हुने गरि एउटा समाचार देशभर प्रसार भै रहेको छ । सामाजिक न्यायको झण्डालाई देशमा मजबुतीका साथ उठाएर जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगार जस्ता बिषयलाई वास्तिविकतामा परिणत गर्न मिहिनेतका साथ करिव दुई तिहाइ बहुमतको समर्थनमा नेपाल कम्युनिस्ट पार्टीको सरकार चलिरहेको छ । यसका प्रधानमन्त्री केपि शर्मा ओली समृद्ध नेपाल सुखी नेपालीको भावनालाई यथार्थ बनाउन अहोरात्र लाग्नुभएको छ । कोहि कसैबाट नठगिने, नहेपिने, कसैले कसैलाई अमानविय रुपमा व्यवहार गर्न नदिने आम कम्युनिस्ट नीति पनि हो र नेकपा र यसको सरकार यसमा लागिरहेको बेला बसरुद्दिनको लगानीमा रहेको नेसनल मेडिकल कलेजमा राज्यले तोकेभन्दा बढी शुल्क लिने मात्र होइन, त्यसको विरोध गर्ने विद्यार्थी हरु माथी अमानविय रुपमा धम्क्याउने, तर्साउने बन्धक बनाउने काम भै रहेको छ । र अति लज्जास्पद कुरा त यो छ कि नीज बसरुद्दिन अंसारी नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध मानिसका रुपमा परिचित छन । यो कस्तो विरोधाभास ? यसलाई अबिलम्ब नसच्याउने हो भने कम्युनिस्ट आन्दोलन र पार्टी प्रतिको जनभरोसामा प्रश्न चिन्ह खडा हुनेछ ।

चलाख कामरेड बसरुद्दिनले  विगतमा क्रमशः प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल , माधवकुमार नेपालबाट उनले नेसनल मेडिकल कलेजको उद्घाटन गराए । उनी काँग्रेस त्यसको नीति विचरालाई लिएर हैन, मेडिकल कलेजका नाममा अकुत धन कमाउने आफ्नो लालसालाई रक्षाको निम्ति भए । जब कांग्रेस कमजोर भयो उनी आफ्नो मेडिकल कलेज मार्फत गरिने सबै खाले हर्कतको रक्षाका लागि फोरम बने, तत्कालिन माओवादी बने र अहिले नेकपामा छन् । उनले पार्टी पंक्ती, राजनितिक आन्दोलनसंग कहिल्यै आफुलाइ जोडेनन् । किनकी उनी कम्युनिस्ट, कांग्रेस वा जुन पार्टीमा गए पनि उनको मक्सद पैसा थियो ।

प्रभावशाली बरिष्ठ नेताहरूसंगको उनको उठबस विध्यार्थी ठग्ने लाइसेन्स थियो । र यो विशुद्ध आरोप हैन कि आज देखिरहेको घटनाले यसलाई पुष्टि गर्दछ । नेताहरुसंगको सम्पर्क र सम्बन्ध बसरुदिन अंसारीको दादागिरीको बल बनेको छ र यो अन्ततः बिद्यार्थी ठग्ने धन्दाको रुपमा प्रयोग हुन पुगेको छ । विद्यार्थी ठग्ने धन्दालाई स्थायी रुप जस्ता सुकै अफवाहको साहारा लिइन्छ । आफ्ना नजिक पर्ने मानिसहरुलाई केहि समय अगाडि सम्माननीय प्रधानमन्त्रीको सिङ्गापुरमा गरिएको उपचार कमरेड बसरुद्दिनको खर्चमा गरिदिएको उनी ठाँटका साथ सुनाउछ्न् । यस्तो दुश्प्रचारले प्रधानमन्त्री समेतको बदनमी भैरहेको प्रती उनलाई केही लिनु दिनु छैन । नेकपा अन्तरगतका केही अवसरवादी चाटुकार जो बसरुद्दिनको निम्छरी चारोमा रमाएका छन् ।

तिनलाई पनि केही मतलब भएको देखिदैन । तर पार्टीका इमान्दार कार्यकर्ता, आन्दोलनमा निष्ठापुर्वक लागेका हरुलाई भने यस्ता कुप्रचारले दुख्ने गरेको छ । यस्तै हल्लाको आडमा, प्रधानमन्त्री र प्रभावशाली नेताहरु सबै आफू अनुकुल रहेको बताउंदै, नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुबाट राज्यले तोकेभन्दा बढी शुल्क असुल गर्ने, उनिहरुलाई धम्क्याउने, कुट्पिट गर्ने, मानसिक मनोवैज्ञानिक तनाव दिने र आफुलाई कम्युनिस्ट बताउने कुरा देखेर यहाँका प्रत्येक इमान्दार र वफादार नेता कार्यकर्ताको शीर निहुरेको छ । आक्रोशीत पनि छ । यो कसैको व्यक्तिगत कुरा होइन । यो सामाजिक कुरा हो कि नेपाल कम्युनिस्ट पार्टीको नाममा केही नेतासंगको उठवसको हवाला दिएर शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा र अझ मेडिकल शिक्षाजातो संवेदनशील कुरामा आफ्नो निजी आम्दानी बाहेक कुनै जिम्मेवारी नैतिकता नदेख्ने कुरा स्वयं पार्टी नेकपाको लागि दुःखद कुरा हो । यस विषयमा अबिलम्ब कठोर कदम चाली, छिटो बसरुद्दिनलाई पार्टीबाट बर्खास्त गर्न र कानुनी कारवाहीको प्रकृया अगाडि बढाउन अब ढिला गर्नुहुंदैन । अन्यथा नेकपाका लागि कमरेड बसरुद्दिन अन्सारी राष्ट्रिय लज्जाको विषय बन्दैछन ।

सभामुख जस्तो महत्वपूर्ण पदमा रहेकालाई पनि खराब आचरणका लागि कारवाही गरेर एउटा महत्वपूर्ण शुरूवात गरेको नेकपाले, दलको आड लिएर निर्लज्जताका साथ मेडिकल शिक्षामा बढीशुल्क लिने, विद्यार्थीहरुलाई धरपकड गर्ने, कुटपिट गर्ने ,बन्धक बनाउने र कानुनी शासनमा जंगली गुण्डगर्दी प्रदर्शन गर्ने कमरेड बसरुद्दिन वा जोकोहिलाई अबिलम्ब कारवाही गर्नुपर्दछ ।-लेखक अनेरास्ववियुका पुर्व नेता तथा राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय सदस्य
हुन । 

 

Advertisement

Advertisement

Advertisement