भक्तपुरमा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व बढ्यो

Advertisement

भक्तपुर । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ ।

चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष छ सय पर्यटक बढेको छ । आव २०७५/७६ को साउन, भदौ र असोजको तीन महिनामा ५६ हजार पााच सय १२ पर्यटक आगमन भएकामा चालू आव २०७६/७७ को साउन, भदौ र असोजमा यो सङ्ख्या बढेर ५७ हजार तीन सय २९ पुगेको छ ।

भक्तपुर नगरपालिका पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख गौतम लासिवाका अनुसार यस वर्ष साउनमा १८ हजार ३९७, भदौमा १४ हजार दुई सय ३२ र असोजमा २४ हजारसात सय पर्यटकले भक्तपुरको अवलोकन गरेका छन् । गत आवको साउनमा भन्दा यस वर्षको साउनमा दुई हजार तीन सय १८ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने भदौ र असोजमा भक्तपुर आउने पर्यटकको सङ्ख्या घटेको छ । भदौमा गत वर्षभन्दा एक हजार ४७६ पर्यटक घटेका छन् ।

भक्तपुरमा सार्क र चीनबाट २७ हजार चार सय ४६ पर्यटकले भ्रमण गरेका छन् भने अन्य मुलुकबाट २९ हजार आठ सय ८८ ले भक्तपुरको भ्रमण गरेका छन् । साउन महिनामा सार्क र चीनबाट १० हजार दुई सय ५६ र अन्य मुलुकबाट आठ हजार एक सय ४१ ले भ्रमण गरेका छन् । भदौमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सदस्य मुलुक र चीनबाट छ हजार आठ सय ६३ र अन्य मुलुकबाट सात हजार तीन सय ६९ ले असोजमा सार्क र चीनबाट १० हजार तीन सय २७ र अन्य मुलुकबाट १४ हजार तीन सय ७३ जनाले भक्तपुरको अवलोकन गरेका छन् ।

पर्यटकको सङ्ख्या बढेसँगै भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबाट सङ्कलन गर्ने राजश्वसमेत वृद्धि भएको छ । आव २०७६/७७ को तीन महिनामा रु पाँच करोड ८५ लाख राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले सार्क र चीनका पर्यटकलाई प्रवेश शुल्क पाँच र अन्य मुलुकका पर्यटकलाई रु एक हजार पाँच प्रवेश शुल्क लिँदै आएको छ । यस आवको साउन, भदौ र असोजमा पर्यटकबाट रु पाँच करोड ८५ लाख ४७ हजार पाँच राजश्व सङ्कलन भएको पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख लासिवाले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement