पूर्वाधार विकास बैंकलाई बम्पर उपहारः निक्षेप राखेर ब्याज खाने सुबिधा थपियो, कर्जा टेक ओभर पनि

Advertisement

काठमाडौं । पूर्वाधार विकास बैंकलाई बाणिज्य बैंकहरुमा निक्षेप राखेर ब्याज खान पाउने सुविधा एक वर्ष थपिएको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक सम्बन्धी निर्देशनलाई संसोधन गर्दै बाणिज्य बैंकहरुमा निक्षेप राखेर ब्याज खाने व्यवस्था परिमार्जन गरेको हो ।

यसअघि पूर्वाधार विकास बैंकले स्थापनाको  एक वर्षसम्मआफ्नो संस्थापक सेयरधनी नरहेको बाणिज्य बैंकहरुमा मुद्धति खाता खोलेर एक अर्बसम्म निक्षेप राख्न पाउने व्यवस्था थियो । राष्ट्र बैंकले पुरानो निर्देशिका संसोधन गर्दै स्थापनाको २ वर्षसम्म आफ्नो संस्थापक सेयरधनी नरहेको बाणिज्य बैंकहरुमा ब्याज आम्दानी हुने गरि खाता खोल्न पाउने व्यवस्था गरिदिएको हो ।

त्यसरी निक्षेप राखेर प्राप्त भएको रकमबाट पूर्वाधार विकास बैंकले आफ्ना कर्मचारीलाई बोनस समेत बाढ्न नपाउने व्यवस्था गरिदिएको छ । यो बैंकले राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रूपमा २०७५ माघ २८ मा राष्ट्र बैंकबाट अनुमति पाएको हो । सरकारको १० प्रतिशत लगानी रहेको यो बैंकमा पब्लिक लिमिटेड कम्पनी (वाणिज्य बैंक, बिमा कम्पनी)को करिब ४० प्रतिशत लगानी छ ।

बाणिज्य बैंकहरुको लोन टेक ओभर गर्ने सुविधा
अब पूर्वाधार विकास बैंकले बाणिज्य बैंकहरुको लोन टेक ओभर पनि गर्न सक्नेछ । यस अघि एउटा पूर्वाधार बैंकले अर्काे पूर्वाधार बैंकको मात्रै लोन टेक ओभर गर्न पाउने व्यवस्था थियो । अब भने बाणिज्य बैंकहरुले कर्जा प्रवाह गरेका परियोजनाहरुको क्रेडिट सेल, पर्चेज, रि पर्चेज तथा टेक ओभर गर्ने अधिकार पूर्वाधार विकास बैंकले पाएको छ । तर त्यस्ता कर्जाहरु पूर्वाधार परियोजनाको हुनुपर्ने र न्युनतम ३० करोड रुपैंयासम्मका भने हुनुपर्नेछ ।

आर्थिक वर्षको अन्तिम महिनामा त्यसरी कर्जा टेक ओभर गर्न पाइनेछैन भने टेक ओभर गर्नु अघि ऋणीको सहमति लिनुपर्नेछ । तर पूर्वाधार विकास बैंकले कारोबार आरम्भ गरेको २ वर्षपछि भने कर्जा टेक ओभर तथा पर्चेज गर्ने सुविधा समाप्त हुनेछ ।

त्यसै गरि पूर्वाधार विकास बैंकले आफ्नो नेतृत्वमा सह वित्तियकरण गर्दा सो समुहको बैठक अब ६ महिनामा एक पटक बसे पुग्ने भएको छ । यस अघि बाणिज्य बैंकहरुसँग मिलेर सह वित्तियकरणमा कर्जा प्रवाह गराउँदा प्रत्येक ४ महिनामा एक पटक बैठक बस्नै पर्ने व्यवस्था थियो । त्यस्तो बैठक सह वित्तियकरणको नेतृत्वकर्ताले अध्यक्षता गर्नुपर्नेछ ।

पूर्वाधार विकास बैकमा सरकारका अलवा ५ वटा बाणिज्य बैंक, १० वटा इन्स्योरेन्स कम्पनी सहित ४१ जनाको लगानी रहेको छ । बैकमा इमर्जिङ नेपालको २५ करोड लगानी रहेको छ।
बाणिज्य बैंक तर्फ एनआएसी एसिया, प्रभु, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई र सिद्धार्थ बैंकको लगानी छ भने १० वटा इन्स्योरेन्स कम्पनीहरुमा प्रुडेन्सियल इन्स्योरेन्स, एलआइसी नेपाल, एशियन लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, आइजीआई इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रहेको छ । त्यसबाहेक इमर्जिङ नेपाल, हाथवे लगायत इन्भेष्टमेन्ट कम्पनी तथा प्राइभेट कम्पनीहरुले पनि लगानी गरेका छन् । व्यक्तिगत तर्फ भने चन्द्रप्रसाद ढकाल, हेमराज ढकाल, आकाश गोल्छा, हेमन्त गोल्छा, शशिकान्त अग्रवाल, बोधप्रसाद त्रिपाठी, प्रकाश मुन्दडा, सुशील गुप्ता लगायत ४१ जनाले संस्थापक सेयर खरिद गरेका छन् ।

 

Advertisement

Advertisement

Advertisement