तिहार मनाउन झण्डै छ अर्बको बदाम, काजु, किसमिस, स्याउ, सुन्तला आयात

Advertisement

काठमाडौं । यातायातको असहजताका कारण नेपालका हिमाली क्षेत्रमा उत्पादन भएका स्याउहरु कुहिएर खेर गइरहेको बेला पछिल्लो तीन महिनामा झण्डै दुई अर्बको स्याउ मात्रै आयात भएको छ । भन्सार विभागले उपलब्ध गराएको पछिल्ला तीन महिनाको तथ्यांकअनुसार दशैंतिहारलाई लक्षित गरेर एक अर्ब ९८ करोड रुपियाँको स्याउ आयात भएको देखिएको हो ।

यस अवधिमा तिहारलाई लक्षित गरेर बदाम, काजु, किसमिस, स्याउ, सुन्तला जस्ता सामग्री मात्रै पाँच अर्ब नौ करोड रुपियाँको आयात भएको छ । यस्ता वस्तुको आयात अघिल्लो बर्षभन्दा एक अर्ब ३४ करोड रुपियाँले बढी हो । भारत, चीन, थाइल्यान्ड, अमेरिका, क्यानडा लगायतका मुलुकबाट आयात भएका यस्ता वस्तुहरुको आयात बढ्दै गए पनि यसलाई कमी गर्न सरकार असफल हुँदै गएको छ ।

विभागको तथ्यांकअनुसार सुन्तलाको आयात पनि उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा ४० करोड ४७ लाख रुपियाँको सुन्तला आयात भएको छ । जबकी नेपालका पहाडी क्षेत्रमा अथाह मात्रामा सुन्तालाहरु उत्पादन हुने गर्दछ ।

यद्यपि केराको आयात भने केही कमी आएको छ । चितवनलगायतका ठाउँमा केराको ठूलो उत्पादन हुन र शहरी क्षेत्रमा आपूर्ति हुने गरेकाले आयातमा कमी आएको हो । गएको तीन महिनामा ३९ करोड ७६ लाख रुपियाँण्को केरा आयात भएको छ । जबकी अघिल्लो वर्षको पहिलो तीन महिनामा ४१ करोड १६ लाख रुपियाँको केरा आयात भएको थियो ।

त्यस्तै, विभागले २३ करोड ३१ लाख रुपियाँको ओखर आयात भएको छ । अघिल्लो वर्षको तिहारमा छ करोड रुपियाँको मात्रै ओखर आयात भएको थियो । त्यस्तै, २१ करोड १८ लाख रुपियाँको बदाम तथा अलमन्ड आयात भएको छ । यो अघिल्लो वर्ष १३ करोड ८६ लाख रुपियाँको मात्रै आयात भएको थियो ।

अघिल्लो बर्ष तीन महिनामा पाँच करोड ६५ लाख रुपियाँको आयात भएको किसमिस यो बर्ष छ करोड ६१ लाख रुपियाँको आयात भएको छ । यस्तै, तीन महिनामा २६ करोड ८४ लाख रुपियाँको नरिवल, काजु ३४ करोड ८२ लाख रुपियाँको आयात भएको छ ।

Advertisement

Advertisement

Advertisement