पाल्पामा दूध बिक्रीबाट मासिक एक लाख २५ हजार आम्दानी

Advertisement

पाल्पा । साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्छन् । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उनको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ । गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ । मेहनतानुसार दाम र नाम कमाएका उनी खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका कारण आफूलाई बूढेसकालको महसुससमेत नभएको बताउँछन् ।

अधिकारीको खटनपटनका कारण अहिले दैनिक ८० देखि ९० लिटरसम्म दूध उत्पादन हुन्छ । गाईभैँसीको दूधबाट विदेशमा भन्दा बढी आम्दानी नेपालमै बसेर गर्ने ती वृद्ध किसान दूध बिक्रीबाटै मासिक रू एक लाख २५ हजारसम्म आम्दानी गर्ने गरेको जानकारी दिन्छन् । २० लाख रुपियाँको लगानीमा गाईपालन व्यवसाय शुरु गर्दा बूढेसकालमा पनि काम गर्नुपरेको भनेर कुरा काट्ने छरछिमेकी अहिले उनको प्रशंसा गर्छन् ।

नेपाली समाजमा नौलो काम गर्दा प्रोत्साहनभन्दा हतोत्साही गर्ने परम्पराका कारण धेरै नेपाली युवा विदेशिन बाध्य छन् । दश गाई र तीनवटा भैँसीपालनबाट चार स्थानीय बासिन्दालाई रोजगारी प्रदान गर्न पाउँदा अधिकारी खुशी भएका छन् । स्वदेशमै कृषि तथा पशुपालन गरी आम्दानीसँगै बेरोजगार युवालाई रोजगार बनाउने काम निकै चुनौतीपूर्ण भएपनि निरन्तर अभ्यासबाट सफल भइने उनको जिकिर छ ।

आफ्नो गाउँबस्ती छोडेर रोजगारीका लागि अरूका देशमा पलायन हुने युवाका लागि स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने नमूना बनेका छन् अधिकारी । विदेशमा ५०–६० डिग्रीको तापक्रममा पसिना बगाउने युवाले स्वदेशमा पनि पसिना बगाउन सके दुईचार पैसा कमाउन बिदेशिन नपर्ने उनी बताउँछन् । पछिल्ला वर्षहरुमा यहाँका युवा व्यावसायिक रूपमा पशुपालन गरी दूध र मासु उत्पादन गरेर आत्मनिर्भर हुन थालेका छन् । दूध र मासुमा पाल्पा जिल्ला आत्मनिर्भर भएकामा जिल्लावासी खुशी छन् ।

Advertisement

Advertisement

Advertisement