कैलालीका ८६ उद्योग कच्चा पदार्थको अभावले खारेजीमा

Advertisement

धनगढी । कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग बन्द भई खारेजीमा परेका छन् । कच्चा पदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

यसबाहेक उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि कतिपय उद्योग बन्द भएको बताइएको छ । खाने तेल, सिमेन्टको ब्लक, पोल्ट्री फार्म, ब्युटीपार्लर जस्ता उद्योग बन्द भई खारेजीमा परेको कार्यालयका उद्योग अधिकृत नवराज भट्टले बताए ।

जिल्लामा पछिल्लो समयमा उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरुपमा बढ्दै गएको देखिएको छ । महिलाको नाममा प्राइभेट फारामको दर्तामा छुटको कानूनी व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो । ‘रु एक करोडसम्मको कूल पूँजी भएका निजी फाराम महिलाका नाममा दर्ता गर्न दर्ता शुल्कमा छुटको कानूनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य बढेको छ’, उद्योग अधिकृत भट्टले भने ।

चालू वर्षको तीन महीनामा कार्यालयमा ३२७ नयाँ उद्योग दर्ता भएकामा यीमध्ये ९५ वटा उद्योग महिलाका नाममा दर्ता भएका छन् । यसअघि विगतका वर्षमा महिलाका नाममा निकै न्यून सङ्ख्यामा प्राइभेट उद्योग दर्ता हुने गरेका थिए । साझेदारी फाराम दर्तामा भने छुटको व्यवस्था छैन । कार्यालयमा गत आर्थिक वर्षमा एक हजार २३४ नयाँ साना उद्योग दर्ता भएका थिए ।

अहिलेसम्म कार्यालयमा दर्ता भएका कूल सात हजार ५७४ उद्योगमा रु १० अर्ब लगानी भइसकेको छ । रु तीन करोडसम्म स्थिर पूँजी भएको उद्योगलाई साना उद्योग रु तीन करोडदेखि रु १० करोड स्थिर पूँजी भएको उद्योगलाई मझौला उद्योग र योभन्दा माथिको स्थिर पूँजी भएको उद्योगलाई ठूला उद्योग मानिन्छ ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू वर्षमा ‘एक स्थानीय तह एक औद्योगिक उत्पादन’ कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रदेशको अर्थतन्त्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न टेवा पु¥याउनका लागि ‘एक निर्वाचन क्षेत्रमा दुई नवीन उद्योग’ सञ्चालन गर्ने नीतिअनुरुप रु तीन करोड २० लाख विनियोजन गरेको छ ।

Advertisement

Advertisement

Advertisement