राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा यादवले नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्तले आव २०७४/७५ मा आयोगबाट सम्पादित प्रमुख कार्यबारे जानकारी दिए। आव २०७४/०७५ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको तथा निर्वाचनसँग सम्बन्धित ऐन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभएका अवस्थामा प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन राष्ट्रियसभा सदस्यको निर्वाचन एवं ७७ वटै जिल्ला समन्वय समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

निर्वाचन व्यवस्थापनका लागि सामान्यतः १२० दिनको अवधि आवश्यक पर्ने भए ता पनि ८२ दिनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सफल भएको आयोगले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति सम्पूर्ण सरोकार पक्षको सहयोगमा अहोरात्र खटिएर सबै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र निर्वाचनबाट ३८ हजार ५०० जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ। यसबीचमा तीन वटै तहका सरकार सञ्चालनमा आएको र संघीयताको पूर्ण कार्यान्वयन भई मुलुक समृद्धिको दिशामा अघि बढेको प्रतिवेदनमा समेटिएको छ।

Advertisement

Advertisement

Advertisement