काठमाडौं महानगरपालिकामा घर बनाउन नयाँ मार्गदर्शन, यस्ता छन् विशेता

Advertisement

काठमाडौं । काठमाडौंमा घर बनाउँदा घरधनीले जान्नै पर्ने न्युनतम प्राबिधिक बिषय राखेर तयार पारिएको मार्गदर्शन मंगलबार सार्वजनिक गरिएको छ । मार्गदर्शनलाई ‘सुरक्षित भवन निर्माणमा घरधनीकालागि उपयोगी मार्गदर्शन’ भनिएको छ ।

काठमाडौं महानगरपालिका सिटिनेट योकोहामा र सिटि अफ योकोहामाको संयुक्त प्रयासमा तयार पारिएको मार्गनिर्देश महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्य, सिटीनेट योकोहामा परियोजना निर्देशक केन्द्र हिराता, योकोहामा सिटी अफिसका अन्तरराष्ट्रिय मामिला व्युरोका निर्देशक योको सुजुकी, महानगरको बिपद् व्यवस्थापन बिभागका प्रमुख अर्चना श्रेष्ठ, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

यो मार्गनिर्देश तयार पार्नु अघि भवन निर्माणसँग सम्बन्धित इञ्जिनियरहरुका ‘स्क्ट्रक्चर एण्ड सेस्मिक इन्जिनियरिङ्’ सम्बन्धि ८ वटा तालिम सञ्चालन गरिएका थिए । तीमध्ये ५ वटा नेपालमा र ३ वटा जापानमा चलाइए । महानगर र याकोहामा सहरवीच २०७३ असार १६ (सन् २०१६ जुन ३० तारिख) मा सम्पन्न सम्झौताका आधारमा चक्रिय तालिकामा चलाइएका तालिममा काठमाडौं उपत्यकामा भूकम्पले पारेको प्रभाव र पुननिर्माणका प्राथमिकताहरु, जापानको याकोहामा नगरको एकीकृत सहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौतीलगायतका बिषयमा कक्षा चलेका थिए ।

जापानमा भूकम्प प्रतिरोधी भवन र भौतिक संरचना सम्बन्धी व्यवस्था, विपद् क्षति न्युनीकरणकालागि सहरी तथा बास्तु योजना, भौतिक संरचनामा भारवहन विश्लेषण विधि, आरसि र स्टिल भवनमा भार ग्रहण क्षमता, ढलान गरिएको भवन र ढुङ्गाको गाह्रो भएका भवनहरुका सम्भावित जोखिम र तिनीहरुलाई सुरक्षित बनाउने विधि पनि तालिममा समेटिएका बिषय हुन् । यसरी चलेका तालिम, तालिमका क्रममा गरिएका भ्रमण अवलोकन र प्रचलित व्यवस्थालाई आधार बनाएर अहिले मार्गनिर्देश तयार पारिएको हो ।

मार्गनिर्देश सार्वजनिक गर्दै महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भने सुरक्षित बस्ती बिकासका लागि थालिएको पहिलो प्रयासलाई क्रमशः सुधार गरेर अघि बढ्ने बताए । आन्तरिक अनुभव र बाह्य सिकाइबाट सहरका घरहरु बलियो बनाउने हाम्रो प्रयास हो । उनले भने सिटिनेट याकोहामा र याकोहामा सिटीजस्ता सहयोगी साझेदारसँगको सहकार्यलाई थप मजवुत बनाएर नागरिकको जीवन सुरक्षालाई परिपक्व बनाउँदै लानेछौं ।

त्यस अवसरमा बोल्दै विपद् व्यवस्थापन बिभागका प्रमुख अर्चना श्रेष्ठले भने मार्गनिर्देशले भवन निर्माण सम्बन्धि प्रचलित कानुनी व्यवस्थाका बारेमा जनसाधारणलाई बुझ्न सजिलो हुने धारणा राखेका छन् । घर बनाउने बेला सामान्य प्राबिधिक कुरासमेत नजान्नाले घरधनीले जीवनभर कमाएको पैसा जोखिममा पर्न सक्छ । यो मार्गनिर्देश पढेपछि कम्तीमा घरधनीलाई अरुले झुक्याउन सक्दैनन् ।

बनाइने घर योकोहामा सिटी अफिसका अन्तरराष्ट्रिय मामिला व्युरोका निर्देशक योको सुजुकीले जापानको भवन निर्माण मापदण्ड र नेपालसँगको सम्बन्धका बिषयमा कुरा गर्दै भने जापानभरि एउटै मापदण्डका आधारमा भवन निर्माण गरिन्छ । त्यहाँ निर्माण सामाग्रीको मापदण्ड पनि एउटै हुन्छ । तर, नेपालमा ठाउँअनुसार फरक पाइन्छ । यदि देशैभर एउटै प्रकारको मापदण्ड हुने हो भने भवन संहिता अनुगमन र नियमन गर्न सजिलो हुन्छ । यो एउटा राम्रो कामको थालनी भएको छ । यसलाई देशभरि प्रवर्धन गर्न सके धेरै मानिसले लाभ पाउँथे ।

सुरक्षित भवन निर्माणकालागि क्षेत्रीय ज्ञान र सीपको प्रवर्धनले इञ्जिनियरहरुको शैक्षिक ज्ञानको दायरा फराकिलो बनाएको बताउँदै कार्यक्रममा सम्पन्न तालिम सम्बन्धि प्रस्तुतिमा महानगरका सिभिल इञ्जिनियर ऋषिराम पुडासैनीले भने तालिममा काठमाडौंसहित छिमेकी र बाहिरी जिल्लाबाट पनि नेपाली इञ्जिनियरहरुलाई सहभागी गराइएको थियो । यसरी तालिममा सहभागीको समग्र सोचबाट मार्ग निर्देश आएकोले यो सहरबासीलाई बढी उपयोगी हुनेछ ।

भवन निर्माण र मापदण्डका बिषय नबुझेका कारण धेरै नागरिकमा समस्या छ । कार्यक्रममा छलफल गर्दै वडा ७ की कार्यवाहक अध्यक्ष निर्मला पुडासैनी, वडा ५ का सदस्य उत्तम शर्मालगायत जनप्रधिनिधिले जनस्तरमा भवन निर्माणको छलफल चलाउनु पर्ने धारणा राखेका छन् । नागरिक सचेत नभइ व्यवस्था प्रभावकारी नहुन सक्छ, छलफलमा बोल्ने क्रममा सूचना तथा सञ्चार बिभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्ग, भवन इजाजत बिभागका उपनिर्देशक गम्भीरलाल श्रेष्ठ र बीरबहादुर खड्काले प्राबिधिक बिषयलाई व्यवहारिक ज्ञानको बिषय बनाउँदै लानुपर्नेमा जोड दिएका छन् ।

के छ मार्गदर्शनमा
बिपद् व्यवस्थापन बिभागले जारी गरेको मार्गनिर्देशमा चार अध्याय छन् । जसको पहिलो अध्यायमा परिचय, दोश्रोमा भवन निर्माण गुणस्तरका बिषयमा ध्यान दिनु पर्ने कुरा समेटिएका छन् । यसमा घर बनाउने सुरक्षित ठाउँ, कस्ता ठाउँमा घर बनाउनु हुँदैन? घर बनाउने ठाउँको माटो परीक्षण,भूकम्प प्रतिरोधी भवनका लागि उपयुक्त आकार प्रकार जस्ता बिषय समेटिएका छन् ।

तेश्रो अध्यायमा घर बनाउँदा गरिने हेलचेक्¥याइँ तथा गलत अभ्यासका बारेमा उल्लेख छ । यसमा सुरक्षित र असुरक्षित पिलर सिस्टम, जमिन मुनिको जग, सुरक्षित क्यानटिलिभर र असुरक्षित क्यानटिलिभर, सुरक्षित र असुरक्षित बिम, बिम र पिलरको सुरक्षित जोर्नी, झ्याल र ढोका राख्ने उपयुक्त ठाउँ, सिल, लिन्टलजस्ता बिषय राखिएका छन् । चौथोमा घर बनाउँदा अबलम्बन गर्नुपर्ने सुरक्षा व्यवस्थाका बारेमा उल्लेख छ । यसमा निर्माण सामाग्रीमा सिमेन्ट, बालुवा, रोडा, पानी, इटा र फलामे छडको गुणस्तर, निर्माण प्रक्रियामा इञ्जिनियरको भूमिका, निर्माण सुरक्षा र व्यवस्थाजस्ता बिषय समेटिएका छन् ।

Advertisement

Advertisement

Advertisement