भेरी करिडोरमा १५ वटा पुल निर्माण हुँदै

Advertisement

जाजरकोट । भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

मन्त्री बस्नेतले रासससँगको कुराकानीमा भने, ‘हामी डिजाइन लागतको अनुमान दुई महिनाभित्र पूरा गरेर सबै पुल निर्माणको चरणमा पुगेका छौँ ।’ गृह जिल्ला आएका मन्त्री बस्नेतले जाजरकोट खण्डभित्र रहेका आठ पुल र डोल्पा खण्डका सात पुल निर्माणकार्य यसै आर्थिक वर्षबाट शुरु हुने बताए । सार्वजनिक खरीद ऐन संशोधन भएका कारण अघिल्लो वर्ष नलगाड नदी र झर्मेखोलामा भएको बोलपत्र आह्वानका साथै रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम रद्द भएकाले यो वर्ष सबै काम हुने उनले बताए।

जाजरकोट खण्डको झुर्मेखोला, नलगाड नदी, खोलेखेत, साप्नेखेत, खमाउरीखोला, त्रात्रगाड, तासुँगाड र तल्लुस्थित भेरी नदीमा पुल निर्माण हुनेछन् । त्यस्तै डोल्पा खण्डमा रिजिगारखोला, उसुमखोला, करवगाडखोला, भेरी नदी खदाङ, खदाङखोला, छलगाडखोला र त्रिपुरासुन्दरी भेरी नदीमा पुल निर्माणका लागि सड़क विभाग पुल महाशाखाले पहल थालेको हो ।

विकास निर्माणमा ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीले नै समस्यामा पारेको उनको भनाइ छ । मूल ठेकेदारले कामको जिम्मेवारी लिएपछि कामको जिम्मा साना निर्माण व्यवसायीलाई दिने अनि साना ठेकेदारबाट काम नहुने मात्र होइन, वर्षौँसम्म झुलाइदिने कार्यले समस्या आएको उनको भनाइ छ । विकास निर्माणका काममा अवरोध नगर्न उनले आग्रह गरे ।

दुनैसम्म सडकको ट्रयाक खोल्ने काम पूरा भएकाले दुनैबाट मरिम्ला सडकखण्डको निर्माणका लागि पनि यसै वर्षदेखि काम गर्न छलफल शुरु भएको पूर्वमन्त्री एवं सांसद सत्य पहाडीले बताए । भेरी करिडोरमा पुल निर्माणसँगै यो वर्ष बोलपत्र आह्वान कालेगाउँदेखि रिम्ना हुँदै तल्लुसम्म हुने भएकाले बहुवर्षीय ठेक्कामार्फत सडक निर्माणको काम हुने उनको भनाइ छ । यसै आर्थिक वर्षदेखि नै त्रिवेणीदेखि इलसम्मको सडक निर्माणका लागि डिपिआर निर्माणको काम पूरा भएकाले सडक निर्माणकार्य शुरु हुने पहाडीले बताएउ ।

प्रदेश सरकार र सङ्घीय सरकारमार्फत संयुक्तरूपमा बजेट विनियोजन भएकाले यहाँ काम हुन लागेको हो । जगदुल्ला हाइड्रोपावर निर्माणका लागि पनि सडक छिटो निर्माण गर्नु अपरिहार्य भएको छ । अहिले जगदुल्ला हाइड्रोपावरको मुआब्जा वितरणको काम शुरु भएको छ । सडकको स्तरोन्नतिको काम नै पहिलो विकासको आधार भएकाले त्यसतर्फ केन्द्रित हुनुपरेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

Advertisement

Advertisement

Advertisement