प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– कालापानी र लिपुलेक समस्या कुटनीतिक तरिकाले समाधान गर्छौं

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा उनले नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । भट्टराईले भने, ‘कालापानी नेपाली भ–ूभाग हो । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ । हाम्रो मान्यता पनि यही हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानीलगायत सबै सीमा विवाद टुँग्याउनुपर्छ ।’

उनले सीमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राखे । भट्टराईले थपे, ‘त्यसको आधारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । अर्को विकल्प छैन् ।’ वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि भट्टराईले सुनाए ।

सीमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै उनले एकपक्षीय निर्णय अमान्य हुने बताए छ । भट्टराईले भने, ‘जुनसुकै समस्याको समाधान कुटनीतिक निश्कर्षमा पुग्नुपर्छ ।’ सरकारले जीपीएस प्रणालीमार्फत सीमा व्यवस्थित् गर्न गइरहेको पनि उनले सुनाए । भट्टराईले भने, ‘सरकारले यसबारेमा एउटा टोली बनाएको छ, उनीहरुले अध्ययन गरिरहेका छन् ।’

सल्लाहकार भट्टराईले नेपाल र भारतबीच कतिपय सीमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेको पनि सुनाए । उनले भने, ‘कतिपय पिलरहरु हराएका छन् । जमिन अतिक्रमण भएका छन् ।’ नेपाल र भारत दुवैतर्फ रहेका स्थायी संयन्त्रमार्फत सिमा विवाद समाधान गर्नेपनि भट्टराईले जनाए ।

त्यस्तै, उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)मा पनि सीमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको जनाए । भट्टराईले भने, ‘हामीले विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेका छौं । ईपीजीको प्रतिवेदन छिटो बुझ्नुपर्छ । यसमा नेपाल–भारत सम्बन्धका सबै उतारचढावबारे समग्र सुझाव छ ।’

उनले नेपाल–भारत सम्बन्ध आजको युग सुहाउँदो बनाउनेगरि सरकार अघि बढ्ने विश्वास दिलाए । नेपाल र भारत दुवै सार्वभौमसत्ता सम्पन्न देश भएकोले कुटनीतिक पहलमार्फत समस्याहरु समाधान गर्नुपर्ने धारणा राखे । र, यही कुरा चीनसँग पनि लागू हुने भट्टराईको भनाई छ ।

सरकारले जनता र भूगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे । भट्टराईले भने, ‘सरकार यसबाट दायाँबायाँ हुँदैन् । सरकार आफ्नो दायित्वबाट पछि हट्दैन, यदि हाम्रो सीमा तलमाथि भएको रैछ भने पनि हामी कुटनीतिक टेबुलमार्फत समस्याको हल गर्छौं ।’

त्यस्तै, भट्टराईले लिपुलेक पनि नेपालकै भएको बताए । भारत र चीनले लिपुलेकबारे गरेको सहमतिमा नेपालले आफ्नो पोजिशन राखिसकेको पनि उनले सुनाए । भट्टराईले भने, ‘अध्ययनको आधारमा र तथ्यांकको आधारमा लिपुलेक हाम्रो हो । यसमा हाम्रो दाबी हुन्छ ।’

लिपुलेकबारे भारत र चीनबीच भएको सहमति बेठिक भएको उनको दाबी छ । भट्टराईले भने, ‘यसबारेमा नेपालले दुवै देशलाई पत्राचार गरेर आफ्नो धारणा राखेको छ ।’ उनले आफूहरुले नेपालको भ–ूभाग कुनैपनि हालतमा नछोड्ने स्पष्ट पारे ।

फरक प्रसँगमा भट्टराईले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अत्यन्तै राम्रो भएको दाबी गरे । उनले भने, ‘उहाँ अहिले दैनिक कार्यमा व्यस्त हुनुहुन्छ । आज पनि उहाँले साग खेलकुद प्रतियोगिताबारे ब्रिफ लिनुभएको छ । चिकित्सा शिक्षा आयोगको बैठकमा सहभागी हुँदैहुनुहुन्छ ।’ निरन्तर बैठकमा सहभागी भइरहेकोले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको उनको भनाई छ ।

Advertisement

Advertisement

Advertisement