उत्तर कोरियाको राजधानी प्योङ्याङ् नगरका प्रमुख रिम किन आए काठमाडौं ? यस्तो छ कारण

Advertisement

काठमाडौं । उत्तर कोरियाको राजधानी प्योङ्याङ् नगरका प्रमुख चा हुइ रिम काठमाडौं आएका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्ससँग भेट समेत गरिसकेका छन् । एक हप्ता लामो भ्रमणका लागि ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रिम बिहीबार (कार्तिक २१) काठमाडौं आइपुगेका हुन् । बि.स. २०५७ सालमा काठमाडौं र प्योङयोङ नगरबिच भगिनी सम्बन्ध स्थापित भएको थियो ।

भेटका क्रममा मेयर शाक्यले प्योङ्याङ्सँग भगिनी सम्बन्ध स्थापना गर्ने समयमा उत्तर कोरिया पुगेको स्मरण गर्दै, त्यस यता सक्रिय सम्बाद नभएको दुई नगरबीच यस बर्षको इन्द्रजात्राले सम्बाद शुरु गराएको बताए । ‘गएको इन्द्रजात्रामा हामीले महानगरसँग भगिनी सम्बन्ध भएका सबै नगरलाई जात्रा अबलोकनका लागि बोलाएका थियौं । त्यस क्रममा यहाँहरु आउन सक्नुभएन । म आशा गर्छु, आउँदो बर्षको जात्रामा यहाँहरु अवश्य आउनु हुनेछ ।’ आपसी सहयोगका बिषयमा कुरा गर्दै मेयर शाक्यले भने—‘आवश्यकताअनुसार आउँदा दिनमा प्योङ्याङ्ले सहरी सेवा व्यवस्थापनका लागि प्रबिधिमा सहयोग गर्न सक्छ ।
त्यस क्रममा बोल्दै प्योङ्याङ्का मेयर रिमले भने—‘भगिनी सम्बन्ध स्थापना भएदेखिकै पहिलो भ्रमण भएकोले काठमाडौं नगर, यहाँको बिकास र जनताका आवश्यकताका बारे परिचित हुनु अहिलेको भ्रमणको उद्देश्य हो। हामी शान्ति र काठमाडौंसँगको आत्मीय सम्बन्ध चाहन्छौं । यस कोणबाट काठमाडौंको भ्रमण हाम्रा लागि उपलब्धीमुलक हुने मलाई लागेको छ ।’

प्रतिनिधि मण्डलमा २ जना डिस्ट्रिक्ट चेयरम्यानसहित नगरका उच्च अधिकारी र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरु हुनुहुन्छ । शिष्टाचार भेटका क्रममा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ् मान पनि सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिमण्डल कार्तिक २६ गते स्वदेश फर्कनेछ ।

शिष्टाचार भेटपछि प्रतिनिधिमण्डलको सम्मानमा रात्री भोजको आयोजना गरिएको थियो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, कार्यपालिका सदस्यहरु, समितिका पदाधिकारीहरु तथा बिभागीय प्रमुखहरुको सहभागिता थियो ।

उत्तर कोरियाको प्योङ्याङ् नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने क्रममा सन् २००१ मा काठमाडौं नगरको प्रतिनिधि मण्डल त्यसतर्फ गएको थियो । त्यसको १ बर्ष पछि भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसबेला महानगरको प्रमुख केशव स्थापित हुनुहुन्थ्यो ।

Advertisement

Advertisement

Advertisement