शरद ऋतुमा हिमाल आरोहण अनुमतिको रोयल्टी साढे छ करोड

सोलुखुम्बु । शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट छ करोड ४० लाख ८८ हजार ८४ रुपियाँ रोयल्टी संकलन भएको छ । ६२ देशका एक हजार एक सय ६२ आरोहीबाट यो रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९ सय १५ र महिला दुई सय ४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी २७ समूहका तीन सय १६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट एक कारोड ४० लाख ३६ हजार तीन सय रुपियाँ रोयल्टी संकलन भएको छ ।

सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै दुई करोड ७० लाख ८५ हजार ६ सय रुपियाँ रोयल्टी संकलन भएको निरौलाले जानकारी दिए । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका दुई सय ६४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार ५ रुपियाँ रोयल्टी संकलन भएको छ । यो हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार तीन सय १२ रुपियाँ संकलन भएको पर्यटन विभागले जनाएको छ ।

वसन्त ऋतुमा आरोहीको भिड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि २ समूहका १० जनाले अनुमति पाएका थिए । उनीहरुबाट सरकारले ६३ लाख ११ हजार ८ सय रोयल्टी संकलन गरेको छ । लामो समयपछि शरद ऋतुमा आरोहणका लागि गएको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ ।

सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन् । शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकुल हुने भए पनि उच्च गतिको हावाको कारण जोखिम हुने आरोहीहरुको भनाइ छ ।

सगरमाथा आधारशिविरदेखि क्याम्प एक सम्मको अति जोखिम युक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ । त्यसैले यो समयमा आरोही समूहले नै बाटो निर्माण गर्दै जानुपर्ने हुन्छ । उनका अनुसार वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प एक सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ ।

नेपाल सरकारलेसमेत शरद ऋतुमा हिमाल आरोहणका लागि पूर्वाधार निर्माणमा खासै चासो राखेको पाइँदैन ।