राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ शुरु

RBB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी शुक्रबारबाट सुरु गरेको छ। बैंकले प्रदेश नम्बर ३ का अनलाइन आवेदनमार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई तीन दिने तालिम प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाइनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए। उनले भने, ‘यस एकेडेमीबाट युवावर्गले बैंकिङ क्षेत्रमा भएका नयाँ–नयाँ उपलब्धिलाई सिक्ने बुझ्ने अवसर प्राप्त गर्नेछन्।’ वित्तीय क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिनसक्ने उनले बताए।

पहिलो चरणअन्तर्गत एकेडेमीले यही कात्तिक १ गतेबाट १५ गतेसम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं. ३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्षमुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आह्वान गरिएको थियो। वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ, टेक्निकल तथा परिक्षा तयारीसम्बन्धी तालिम दरबारमार्गमा प्रदान गरिनेछ।

तीन दिनको तालिमपछि बैंकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिनेछ। यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि सञ्चालन गर्नेछ। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, जब डाइनामिक्सका निर्देशक प्रयास राजउपाध्याय, सुस्मिता बैद्य, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु कमलेश ठाकुर, दिपकराज न्यौपाने, मार्स एडभरटाइजिङ्गका सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

बैंकले गत आ।व। २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपियाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपियाँ रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ।