साग खेलकुद तयारी भद्रगोल, प्यारापिटको छानो अझै चीनमै

Advertisement

काठमाडौं । एक वर्षअघि नै नेपालमा सम्पन्न हुनुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तीनपटक म्याद थपेर १५ मंसिरमा गर्ने तयारी छ । तर, तीन साता मात्रै बाँकी हुँदा पूर्वाधार तयारी भने अपूरो छ । साग उद्घाटन हुने दशरथ रंगशालाको भिभिआइपी प्यारापिटको छानो अहिलेसम्म चीनमै छ ।

प्यारापिटको छानो जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको खेलकुदमन्त्री जगत विश्वकर्मा बताउँछन् । ‘थप रकम खर्चेर भए पनि हवाईजहाजबाटै कार्गो गरी छानो ल्याउँछौँ,’ उनले भने । समयमै छानो आएन भने दर्शक, खेलाडी तथा अफिसियल खुला आकाशमुनि बस्नुपर्ने अवस्था हुन सक्छ । १५ मध्ये छानोका लागि पाँचवटा पिलर ठड्याइएकोमा १० वटा राख्न बाँकी नै छ । समयमै काम सक्न आफू राति अबेरसम्म पनि रंगशालामै खटिएको मन्त्री विश्वकर्मा बताउँछन् ।

काठमाडौं, ललितपुर, पोखरा र जनकपुरका विभिन्न स्थलमा खेल हुनेछन् । पौडी प्रतियोगिताका लागि सातदोबाटो पौडी पोखरी निर्विकल्प हो । नियमअनुसार अन्तर्राष्ट्रिय पौडी आयोजना गर्न आठ लेनको पोखरी हुनुपर्छ, यो मापदण्ड सातदोबाटो पोखरीमा मात्रै छ । तर, पूर्वाधार निर्माण सकिएको छैन । जाडोमा प्रतियोगिता हुन लागेकाले अभ्यास र खेल तातोपानीमा गराउनुपर्छ । तर, हिटिङ प्रणाली अहिलेसम्म राखिएको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल भने प्रतियोगिताअघि नै हिटिङ प्रणाली जडान हुने दाबी गर्छन् । सरकारले बाँकी काम फास्ट ट्र्याकमा गर्न निर्देशन दिएको छ ।

सागको सबल पक्ष खेलाडीलाई दिएको प्रशिक्षण मात्रै हो । सरकारले खेलाडीलाई धमाधम वैदेशिक प्रशिक्षणमा पठाइरहेको छ । पुरुष भलिबल टोली शुक्रबार मात्रै वैदेशिक प्रशिक्षणका लागि गएको छ । नेपाल सहभागी हुने २७ मध्ये १५ खेलका खेलाडी यतिवेला वैदेशिक प्रशिक्षणमा छन् । केही प्रशिक्षण लिएर स्वदेश फर्किसकेका छन् । पदक सम्भावना रहेको खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले बताए । कुस्ती, खो–खो, कबड्डी, पौडी, स्क्वास, पुरुष ह्यान्डबल, पुरुष भलिबल, फेन्सिङ, ह्यान्डबल, महिला भलिबल, गल्फ, बक्सिङ, आर्चरी, जुडो, तेक्वान्दो र करातेका खेलाडीले यो अवसर पाएका छन् । यता १८औँ एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएको प्याराग्लाइडिङ, एथलेटिक्स, ट्रायथलन, बास्केटबल, सुटिङ, क्रिकेट ९पुरुष र महिला०, टेनिस, ब्याडमिन्टन, उसु र महिला फुटबलको तयारी भने स्वदेशमा भइरहेको छ । सागका लागि १४ खेलका दुई सय ९९ खेलाडी छनोट भइसकेका छन् । बाँकी १३ खेलको पनि २५ कात्तिकभित्र छनोट गरिने रानाभाटले बताए । सागमा नेपालबाट ६ सय ७७ खेलाडी सहभागी हुनेछन् ।

१५ देखि २४ मंसिरसम्म साग गर्न नेपाललाई अन्य सहभागी राष्ट्रले अन्तिम मौका दिएका हुन् । सन् २०२० मा टोकियो ओलम्पिकका साथै अन्य ठूला खेलकुद प्रतियोगिता हुने भएकाले पनि साग सर्ने सम्भावना छैन । बरु नेपालमा साग नै नहुने परिस्थिति निम्तिन सक्छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले विशेष पहलमा सारेकाले अब मिति नसर्ने बताए । ‘अब साग सर्ने कल्पना पनि नगर्नुस्,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अन्य राष्ट्रहरू निश्चित योजना र बजेटमा चलिरहेका हुन्छन्, साग सार्नु भनेको उनीहरूको अरू प्रतियोगिता र बजेटमा समेत असर पुर्‍याउनु हो ।’ भारत, पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंकाले जनवरीदेखि नै आफ्ना खेलाडीलाई टोकियो ओलम्पिकको तयारीमा पठाउँदै छन् ।

सागका लागि सरकारले १५ समिति बनाएको छ । राष्ट्रिय टिम तयारी, खेलस्थल व्यवस्थापन, प्राविधिक, स्रोत–साधन परिचालन, सुरक्षा, आवास व्यवस्थापन, यातायात, स्वास्थ, प्रचारप्रसार, समारोह, स्वयंसेवक, अनुमगन र मूल्यांकन, अतिथि सत्कार र खेल सामग्री समिति छन् । सातै राष्ट्रका खेलाडी, पदाधिकारी र समर्थकलाई सुरक्षा व्यवस्थापनका लागि प्रतियोगिता अवधिभर १३ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सुरक्षा समिति संयोजक नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल हुन् । काठमाडौंको सुरक्षा व्यवस्थापनको कमान्ड भने डिआइजी दीपककुमार थापाले गर्नेछन् । खेलाडी र पदाधिकारीलाई विमानस्थलबाट होटेल, होटेलबाट खेलस्थलमा पुर्‍याउन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले सुरक्षा दिने सुरक्षा समितिका सचिव फणिन्द्र पौडेलले बताए । सुरक्षातर्फ ५० करोड २६ लाख बजेट छुट्याइएको छ । ट्राफिक व्यवस्थापनका लागि जोर–बिजोर प्रणालीबारे पनि छलफल भइरहेको पौडेलले बताए ।

विशिष्ट पाहुनालाई पाँचतारे होटेलमा राख्ने तयारी छ । ‘सुरक्षाका कारण पनि विशिष्ट पाहुनालाई पाँचतारेभन्दा मुनिका होटेलमा राख्न सकिन्न,’ वास व्यवस्थापन समिति संयोजक टासी घलेले भने । त्यस्तै स्वदेशी तथा विदेशी पत्रकारलाई सहजै सूचना उपलब्ध गराउन ‘साग मिडिया सेन्टर’ बनिरहेको प्रचारप्रसार समितिका सचिव दुर्गाप्रसाद दुलालले बताए । सूचना सहजताका लागि सागभर छुट्टै वेब पोर्टल पनि सञ्चालन हुनेछ । त्यस्तै, स्वास्थ्य समितिका संयोजक अजय राणाले बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण छिटै हुने बताए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement